एमाले प्रदेश अध्यक्षमा दाहाल र उपाध्यक्षमा ठकुरीको उम्मेदवारी

जुटेन सहमति, आज मतदान
साझाकुरा
२०८० आश्विन ११, बिहीबार ०८:५९

हेटौंडा- नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । एमाले प्रदेश कमिटीको पदाधिकारीमा मकवानपुरका दुई जनाले उम्मेदवारी दिएका छन् मकवानपुरबाट अध्यक्षमा कृष्णप्रसाद दाहाल र उपाध्यक्षमा सुवासचन्द्र ठकुरीले उम्मेदवारी दर्ता गराएका हुन् । उपाध्यक्षमा प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले उम्मेदवारी दिने तयारी गरेका थिए । बर्तौलाले ठकुरीका लागि उपाध्यक्षमा ठाउँ दिएका छन् । इन्द्रसरोबर गाउँपालिका घर भएका ठकुरी संविधानसभा सदस्य हुन् । उनी ४ मंसिर २०७९ मा भएको निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न चाहन्थे । ठकुरीलाई बर्तौलाले पन्छाउँदै टिकट हात पारेका थिए ।

यसैगरी, एमाले प्रदेश अध्यक्षमा मकवानपुरका दाहालसहित रामेछापका कैलाश ढुंगेल, केशरबहादुर बुढाथोकी, सानुुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् । नुवाकोटका पाण्डेले अन्तिममा उम्मेदवारी दर्ता गराएका हुन् । पाण्डेलाई उम्मेदवारी दर्ता गर्न अवरोध भएको जनाइएको छ । अध्यक्ष मण्डलका अध्यक्ष गुरु बरालसहितबाट उनलाई उम्मेदवारी दर्ता गर्न अवरोध गरिएको चर्चा
छ । उनको मनोनयन दर्तामा बरालसहित आनन्द पोखरेल, डोरमणि पौडेललगायतले रोकेपछि केहीबेर तनावको अवस्था समेत भएको मनोनयन दर्तास्थलमा रहेका एक नेताले बताए ।

उनका अनुसार होहल्ला भएपछि अन्तिम समयमा पाण्डेको पनि वारेसनामामार्फत् उम्मेदवारी दर्ता भएको हो । पाण्डेको उम्मेदवारी गणेश श्रेष्ठको वारेशनामामार्फत् दर्ता भएको हो । केपी ओली निकट मानिने पाण्डेलाई सो समूहबाट अर्का उम्मेदवार रहेको भन्दै उम्मेदवारी दिनबाट रोकेको बताइएको छ । यद्यपि होहल्लापछि अन्तिम समयमा उनको पनि उम्मेदवारी दर्ता भएसँगै कुल उम्मेदवारी ५ जनाको परेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका उम्मेदवार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुन् । यस्तै, उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल, र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा र रमेश महर्जनले उम्मेदवारी दिएका छन् । बागमती प्रदेशमा नेकपा एमालेका संगठित सदस्य झण्डै एक लाख १० हजार रहेका छन् । उनीहरुमध्येबाट ११ सय ३८ जना प्रतिनिधि छानिएर काठमाडौंमा अधिवेशनका लागि सहभागी छन् ।

एमाले अध्यक्ष केपी ओलीले अधिवेशन उद्घाटन गर्दै व्यक्तिव्यक्तिलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न छुट भएपनि प्यानल बनाएर निर्वाचनमा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएपछि नेताहरु प्यानलविनै निर्वाचन प्रतिस्पर्धामा उत्रिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*