सार्वजनिक यातायातमा जोखिम

साझाकुरा
२०८० आश्विन ११, बिहीबार ०९:१०

हाम्रो सडकको बनावट एवम् दुरावस्था, भौगोलिक अवस्थिति, चालकको काबुवाहिरको परिस्थिति, चालकको हेलचेक्रयांई, खराब मौसमका कारण सवारी दुर्घटना हुने गर्दछ । हाम्रो देश सडक दुर्घटना बढी हुने देशमध्ये पर्दछ । सडक दुर्घटनाका कारण अकालमा असंख्य जनधनको क्षणभरमै क्षती भइरहेको छ । क्षणभरमा कसैको घर उजाड भइरहेको छ । दुर्घटना न्यूनीकरणका लागि सबै उपायहरु अवलम्बन गर्नुपर्छ, तथापी हामीले गर्ने सावधानी र खवरदारीले दुर्घटना न्यूनीकरण गराउन सकिन्छ तर, शुण्य हुन सक्दैन ।

दुर्घटना पश्चात यातायात व्यवसायीले घाइते तथा अंगभंगको सम्पूर्ण खर्च व्यहोर्नुपर्छ, मिलापत्रमा केही राहत रकम नदिई मिलापत्र हुन सक्दैन भने मृतकका परिवारमा पनि बीमावाहेक थप रकम नदिई छुटकारा पाउन सकिन्न । सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारले मोटर बीमाबाट क्षतीपूर्तिवापत ५ लाख रुपैयाँ पाउने र घाइतेको उपचारखर्च जेजति भएपनि अधिकतम रु. ३ लाख बीमाले व्यहोर्ने नीति बनेको आज १५ बर्ष भइसकेको छ । १५ वर्ष अघिको र आजको मितिको ५ लाखको मूल्यमा कति अन्तर परिसक्यो ? यसमा तत्काल राज्यको सम्बोधन हुनु जरुरी छ ।

आगामी दिनमा हरेक २ बर्षमा क्षतिपूर्ति रकम पुनरावलोकन गर्ने नीतिगत व्यवस्था हुनुपर्दछ । घाइतेको उपचार खर्चको पनि पुनरावलोकन हुन सकेको छैन । सवारी दुर्घटनाको उपचार खर्च अत्यन्तै महंगो छ । यातायात व्यवसायीले गम्भिर घाइतेको उपचार खर्च ५० लाख भन्दा बढी व्यहोर्नु परेको अवस्था छ । बीमाबाट आउने ३ लाख रुपैयाँले त्यो व्यवसायीलाई कति राहत देला ? सवारी दुर्घटनामा घाइते, मृत्यु जस्ता मानवीय क्षती वाहेक पनि सवारी, घरटहरालगायत भौतिक क्षति हुने गर्दछ । सवारीधनीले त्यो तेस्रोपक्ष भौतिक क्षतिको पनि दायित्व बोक्नु नै पर्छ । यस्तो परिवेशमा यो पेशा कसरी अघि बढिरहेको छ ? भन्ने अध्ययन गर्ने हो भने जसोतसो व्यवसायीबाटै शुल्क उठाई संघ, संस्था, समिति, कम्पनीले संचालन गर्दै आएको बास्केट फण्डले यो जोखिमलाई धानेका छन् । नेपाल सरकारले सवारी दुर्घटना पश्चात उत्पन्न हुने सम्पूर्ण जोखिम वहन गर्ने खालको बीमा पोलिसी तत्काल बनाउनु पर्दछ वा यो संभावना छैन भने बास्केट फण्ड संचालन गर्न पाउने नीतिगत स्पष्ट व्यवस्था हुनुपर्दछ ।

सवारी दुर्घटनाको अंगभंग घाइतेतर्फको उपचार, क्षतीपूर्ति र कानुनी व्यवस्था कहालीलाग्दो छ । क्षतिपूर्तिवापत पाउने ५ लाख रुपैयाँले के हुन सक्छ ? कम्तिमा बाचुन्जेल स्याहार सुसार र औषधिउपचार हुनसक्ने खालको क्षतिपूर्ति रकम व्यवस्था वा वैकल्पिक उपायको खोजी गर्नु जरुरी छ । राज्यले पूर्णरुपमा अंगभंग वा प्यारालाइसिस भएको व्यक्तिको परिवारबाट कम्तिमा १ जनालाई रोजगारी दिने व्यवस्था गर्ने हो भने पनि वैकल्पिक उपाय बन्न सक्छ । दुर्घटनामा संलग्न सवारीको दोष र गल्तीअनुसार कारवाही हुनुपर्नेमा सानो सवारी र ठूलो सवारी, अझ भन्नैपर्दा रोकी राखेको ट्रक÷बसमा मोटरसाइकल आएर ठोक्किंदा पनि ट्रक÷बसलाई क्षतीपूर्ति तिर्न लगाइन्छ । सडक अतिक्रमण गर्ने र छाडा चौपाया छोड्नेहरुप्रति पनि प्रशासन कठोर हुन जरुरी छ ।

सवारी दुर्घटना हुने प्रमुख कारणहरु भनेको चालकको लापरवाही, चालकको गलत÷खराव नियत, भवितव्य, काबुवाहिरको परिस्थिति, यान्त्रिक गढवडी, बाटोको दुरावस्था, खराब मौसमलगायत कारण भए पनि हरेक दुर्घटनामा चालकवाहेक अन्य पक्षको गल्तिलाई कम आंकलन गरिन्छ । दुर्घटनाका कारण अनेक हुन्छन् तर, सबै दुर्घटनामा चालकको लापरवाही देखाउने र कारवाहीका नाममा चालकलाई जेल पठाउने, चालकसँग धरौटी माग गर्ने जस्ता अव्यवहारिक अभ्यासको अन्त्य हुनुपर्ने माग यातायात ब्यवसायीले बर्षौंदेखि उठाउँदै आएका छन् । खासगरी वर्षात्को मौसम र चाडपर्वमा बढी दुर्घटना हुने गरेका छन् । वर्षात् र चाडपर्वमा बढी साबधानी अपनाउनुको बिकल्प छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*