चित्लाङमा प्याराग्लाइडिङ सुरु
हेटौंडा- पर्यटकीय पहिचान बोकेको थाहानगरको चित्लाङमा पहिलोपटक प्याराग्लाइडिङ सुरु गरिएको छ । यसअघि नगरको विभिन्न स्थानमा प्याराग्लाइडिङको सफल परीक्षण भए पनि औपचारिक सुरुवात हुन सकेको थिएन ।अहिले चित्लाङमा पनि परीक्षण भइरहेको हो । सञ्चालनको सबै कानूनी प्रक्रिया पूरा भएको र पटकपटकको परीक्षण सफल भएकोले यसले निरन्तरता पाउने थाहा–९ का वडाअध्यक्ष राजकुमार बलामीले बताए । उनका अनुसार ९ असोजमा मात्र १८ वटा परीक्षण उडान सफल भएको छ ।
एक वृहद् कार्यक्रमको आयोजना गरी प्याराग्लाइडिङको औपचारिक उद्घाटन गरिने वडाअध्यक्ष बलामीले जानकारी दिए । लामो समयदेखि चित्लाङको आकाशमा प्याराग्लाइडिङ उडाउने सपना पूरा हुन लागेकोमा पर्यटनकर्मी देवेन्द्र नेपालले खुशी व्यक्त गरे ।प्याराग्लाइडिङ सञ्चालनबाट स्थानीय पर्यटनमा सहयोग पुग्ने प्याराग्लाइडिङ सञ्चालक बाबु एड्भेन्चरका प्रबन्धनिर्देशक सानुबाबु सुनुवारले विश्वास व्यक्त गरे ।यसबाट चित्लाङको पर्यटनमा नयाँ अध्याय सुरुवात भएको स्थानीय राजेन्द्र बलामीले बताए ।