हेटौंडा सिमेन्ट उद्योगले थाल्यो उत्पादन

साझाकुरा
२०८० आश्विन १२, शुक्रबार ०९:३७

हेटौंडा- करिब दुई हप्ताअघि बन्द भएको हेटौंडा सिमेन्ट उद्योगले बिहीबारदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योगले जनाएको छ ।बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए । हेटौंडास्थित नेपाल विद्युत प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए । उद्योगमा विद्युत आपूर्तिको लागि छुट्टै फिडर जडान गरिए पनि आपूर्ति पटक–पटक अवरुद्ध हुँदा उत्पादन कार्यमा निकै समस्या भोग्नु परेकाले प्राधिकरणसँग नियमित विद्युत आपूर्ति गर्न पत्राचार भइरहेको पनि महाप्रबन्धक कर्णले बताए ।

नेपाल सरकारको स्वामित्वमा रहेको उद्योग करिब चार दशक पुरानो हुँदै जाँदा सबै उपकरण पनि जीर्ण हुँदै गएकाले उत्पादन क्षमतामा कमी आएको उल्लेख गरिएको छ । साबिक क्षमताअनुसार दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य भए पनि अहिले दैनिक दस हजार बोरा मात्रै सिमेन्ट उत्पादन भएको उद्योग व्यवस्थापनले जनाएको छ ।तत्कालीन श्री ५ को  सरकारले विसं २०३३ मा हेटौंडामा स्थापना गरेको उद्योगले २०४३ साल मङ्सिर २६ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आएको हो । एक अर्ब ३८ करोड ९० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यो उद्योगले अहिले विभिन्न सहरमा दैनिक चार हजारदेखि पाँच हजार बोरासम्म मात्र सिमेन्ट बिक्रीवितरण गरिरहेको छ । पर्याप्त सिमेन्ट बिक्री हुन नसक्दा निकै आर्थिक भार व्यहोर्न परेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*