कृष्ण दाहाल २५७ मतान्तरले पराजित, कार्यक्षेत्रमा भेट गर्ने प्रतिबद्धता

साझाकुरा
२०८० आश्विन १३, शनिबार १२:०६

हेटौंडा- नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् ।ढुंगेलका प्रतिद्वन्द्वी मकवानपुरका कृष्णप्रसाद दाहाल पराजित भएका छन् । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार भएको मतदान पश्चात् राती सम्पन्न मतपरिणामअनुसार ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार दाहालले भने ४३९ मत प्राप्त गरे । दाहाल २५७ मतान्तरले पराजित भएका छन् ।ढुंगेल यसअघि २०७४ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेशमन्त्रीसमेत भएका थिए । उनलाई महासचिव शंकर पोखरेलको समर्थन रहेको बताइएको थियो । उता पराजित मकवानपुरका दाहाल तीनपटक सांसद बने भने २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि अर्थसमितिको सभापति थिए । उनलाई उपाध्यक्ष विष्णु पौडेलको समर्थन रहेको बताइएको थियो ।

अध्यक्षमा पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकबाट प्रतिक्रिया दिँदै दाहालले कार्यक्षेत्रमा भेट हुने प्रतिबद्धता जनाएका छन् । उनले प्रणालीमार्फत एमालेलाई बलियो बनाउने अभियानमा सफल भएको दाबी गरे । पार्टीको शिर्ष नेतृत्वले सहमति लाद्न खोजेपछि दाहालले अडान कसेपछि शुक्रबार मतदानबाट नतिजाको टुंगो लगाइएको थियो । उनले प्रतिद्वन्द्वी उम्मेद्वार ढुंगेलसहित निर्वाचित पदाधिकारी र सदस्यहरूलाई बधाई दिए ।दाहाल मकवानपुरको साविक ठिंगन गाविस (हालको बकैया गाउँपालिका)मा २०२० सालमा जन्मिएका थिए । दाहाल पार्टी र संसदीय राजनीतिमा स्थापित नेता हुन । २०३८ सालमा तत्कालीन मालेसँग कम्युनिष्ट आन्दोलनमा होमिएका दाहाल आफनो राजनीतिक यात्रामा प्रधानपञ्च हुँदै ३ पटक सांसद भइसकेका नेता हुन् ।

२०४३ सालमा जनपक्षीय उम्मेदवारको रुपमा दाहालले मकवानपुरको तत्कालीन ठिंगन पञ्चायतको प्रधानपञ्च जितेका थिए । राप्रपाको प्रभाव रहेको मकवानपुरमा कम्युनिष्ट आन्दोलनलाई बढावा दिन दाहालको भूमिका अहम छ । उनी २०४५ सालबाट एमाले जिल्ला कमिटीमा रहेर काम गरेका थिए । दाहाल मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट ३ पटक सांसद भइसकेका छन् ।
२०४८, २०५६ र २०७४ मा विजयी भएका दाहाल २०७४ मा प्रतिनिधिसभाको अर्थ विकास समितिको सभापति भएर काम गरेका छन ।

दाहालले २०५४ बाट २०६६ सम्म चारक पटक मकवानपुर एमालेको नेतृत्वमा रहेर काम गरे । यसअघि चितवनमा सम्पन्न एमालेको १० औँ केन्द्रीय महाधिवेशनबाट उनी केन्द्रीय सदस्यको जिम्मेवारीमा आएका थिए । उनी पटक–पटक गरी दुई वर्ष जेल बसेका छन् । यसैगरी पार्टी अन्तिम मतपरिणामअनुसार एमाले बागमती प्रदेश कमिटी उपाध्यक्षमा दावादोर्जे लामा विजयी भएका छन् । उनले ६१५ मत प्राप्त गरेका छन् । सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् । सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।

पुरुष तर्फको उपसचिवमा प्रेम महर्जन ३६७ मतसहित विजयी भएका छन । महिला उपसचिवमा भक्तकुमारी लामाले ५९९ मत प्राप्त गरी विजयी भएकी छन् । सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि विद्युतीय मेसिनमार्फत् पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो । मतदानमा ११३५ मत खसेको थियो । ११६८ मतदाता रहेको निर्वाचन प्रक्रियामा ३२ जना अनुपस्थित रहे ।

सदस्यमा मकवानपुरका
७ जना विजयी
अधिवेशनबाट खुल्ला सदस्यमा मकवानपुरका ७ जना निर्वाचित भएका छन् । प्रतिस्पर्धाबाट बद्री लम्साल (६४८), रघुनाथ खुलाल (६१६), रामचन्द्र राई (६६०), दिलबहादुर घिसिङ (६४३), कमल बिष्ट (६१२), ईन्द्र मान स्याङताङ (७२९) र नवराज तिमल्सिना ६६६ मतसहित विजयी भएका हुन् । यसअघि मकवानपुरका ११ जना सदस्यमा निर्विरोध चयन भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*