सर्जकलाई उर्जा थप्दै साहित्य संगम
हेटौंडा- साहित्य संगम मकवानपुरले जिल्लाका ९ जना स्रष्टालाई सम्मान प्रदान गरेको छ । २०७९ सालमा साहित्य तथा अन्य विधामा पुस्तक प्रकाशन गरेका मकवानपुरे ९ जना स्रष्टालाई संगमले शनिबार हेटौंडामा सम्मान गरेको हो ।शनिवार संगमको ३ सय ३५ औँ साहित्य सन्ध्यामा उनीहरु सम्मानित भएका हुन् । ‘छेलिएका अनुहार’ पुस्तकका लेखक प्रताप विष्ट, ‘शिक्षकको भाषा’ का लेखक छवि अनित्य, ‘छैनौ कसोरी तिमी’ का लेखक पुरुषोत्तम आचार्य, ‘मानचित्रमा देश’ र ‘अक्षर आराधन’ का लेखक मसान उपासक, ‘खुसी’ लघुकथा सङ्ग्रहका लेखक किशन पौडेल, कविता सङ्ग्रह ‘तिलगंगा गोविन्द’ का लेखक सुभाषचन्द्र पौडेल, ‘कोरिएका धर्साहरु’ कविता सङ्ग्रहका लेखक ऋत्विक केबी, ‘अभियुक्त समय’ कविता सङ्ग्रहका लेखक समर्पण न्यौपाने, ‘कठघर्रामा देश’ का सर्जक बिर्खे अन्जान सम्मानित भएका हुन् ।
मकवानपुरमा गाडी बोक्नेहरुको कथालाई पुस्तकाकारका रुपमा ल्याउने पत्रकार बिष्ट कान्तिपुर दैनिकमा आवद्ध छन् । कान्तिपुरमा समाचारका रुपमा लेखिएका गाडी बोक्नेहरुको ईतिहाससँगै,मकवानपुरका चेपाङ र वनकरियाका कथावस्तु समेटेका बिष्टले पाठकहरुलाई नयाँ स्वाद दिने प्रयास गरेका छन् । त्यस्तै शिक्षकको भाषाका लेखक छबि अनित्य मकवानपुरका परिचित साहित्यकार हुन् । शिक्षण पेशामा आवद्ध भएका अनित्य सामुदायिक विद्यालय र संस्थागत विद्यालयको भिन्दाभिन्दै अनुभव संगालेका ब्यक्ति हुन् । पत्रकारितामा आउनु अघि बिष्ट पनि शिक्षण पेशामा आबद्ध थिए । त्यस्तै सम्मानीत ब्यक्तित्व आचार्य पनि शिक्षा क्षेत्रमा संलग्न छन् ।
मकवानपुरको छन्दमा राम्रो दख्खल राख्ने आचार्य रेडियो कार्यक्रममा पनि उत्तिकै पोख्त छन् । दुईवटा कृति एकैसाथ ल्याएका मसान उपासक पनि रेडियोकर्मी, शिक्षा क्षेत्र भन्दा टाढा छैनन् । मकवानपुरको साहित्यआकाशलाई उचाइमा पु¥याउने कार्यमा सम्मानीत स्रष्ठाको महत्वपूर्ण योगदान छ । संगमले पहिलोपटक यसरी लेख्नेहरुलाई सम्झेको भने होइन तर, संजोग एक वर्षमा निस्किएका कृतिलाई एकैथलोमा समेट्दा निकै महत्वपूर्ण अवसर बनेको हो ।
कठघर्रामा देशका लेखक पालुङमा बसेर साहित्य सृजना गरिरहेका छन् । ग्रामीण क्षेत्रमा रहेर पनि साहित्यमा फराकिलो सोचका साथ सृजना गर्नसक्ने अन्जान यसअघि पनि पटकपटक सम्मानीत भइसकेका छन् । लघुकथामा कलम चलाउने सर्जक किसन पौडेल हेटौंडा–४ निवासी हुन् । सर्जक पौडेलको रचनाको लोकप्रियता उच्च छ । कोरिएका धर्साहरुका सर्जक केबी विद्यालय तहको अध्ययन पूरा गर्दै गरेका छन् । बाबुआमा नै साहित्यका क्षेत्रमा क्रियाशील भएका कारण पनि केबीको प्रखरता सानै उमेरदेखि सुरु भएको पाइन्छ ।
साहित्य संगम मकवानपुरको नियमित साहित्य सन्ध्यामा सम्मानित स्रष्टाहरु केबी, न्यौपाने, अनित्य, पौडेल, अन्जान, पौडेल भीमफेदीया तथा कार्यक्रमका समीक्षक हरिकृष्ण काफ्ले तथा शान्तिप्रिय वन्दनाले रचनावाचन पनि गरेका थिए । यसैगरी कविहरु दिनेश शर्मा, सुवास खनाल, जनार्दन खनाल, मनोज पोखरेल, कुवेर पराजुली, कृष्टिना कार्की, सरजु भण्डारी, दीपिका लम्साल, बिजनेस सन्जेल, प्रकृति अर्याल, अनसूया खनाल, रिजन राना, सुवास सजल, रोशनी चौलागाईले रचनावाचन गरेका थिए ।
त्यसैगरी बैकुण्ठ लामिछाने, ठाकुराम भण्डारी, कमल नेपाल, विष्णु न्यौपाने, पुण्यशिला श्रेष्ठ, ऋषि केबी, सानुभाइ विश्वकर्मा, लक्ष्मी कंडेल, ऋषिराम पाण्डे, ओमभक्त भण्डारी, स्वस्तिका बानियाँ, रजनी पौडेल, सम्प्रश पौडेल र सन्जित श्रेष्ठलगायतका स्रष्टाहरुले रचना वाचन गरेका थिए । साहित्यकार नवराज शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा संगम अध्यक्ष डीबी बर्तौलाको सभापतित्वमा सम्मान तथा सन्ध्या भएको हो । पछिल्लो समय संगमले बिभिन्न कार्यक्रम गर्नका लागि अक्षयकोष स्थापना गरी नियमित ब्याज आम्दानी गर्ने योजना पनि बनाएको छ । यसका लागि संगमले २ लाख रुपैयाँ भन्दा बढी संकलन गरिसकेको छ । एक मिहनाभित्र २ लाख रुपैयाँ संकलन भएको बताइएको छ । सर्वसाधारणले संगमलाई माया गरेर रकम सहयोग गरिरहेको संगमका उपाध्यक्ष सानु खनालले बताए ।