नागस्वती भेट्रान्स फुटबलः तीन टिमको विजयी सुरुवात
हेटौंडा- नागस्वती भेट्रान्स क्लबको आयोजनामा मंगलबारदेखि हेटौंडा–७ नागस्वतीमा सुरु भएको दोस्रो नागस्वती भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगितामा मंगलबार चितवन भेट्रान्स, जोरपाटी भेट्रान्स र अभिषेक चर्च नवलपरासीले विजयी सुरुवात गरेका छन् । प्रतियोगितामा मंगलबारको पहिलो खेल चितवन र नवजागृति भेट्रान्स सिमराबीच भएको थियो । खेलमा ३–१ अन्तरमा चितवन भेट्रान्स विजयी हुन सफल भएको हो । यस्तै दोश्रो खेलमा अभिषेक चर्च नवलपरासीले वीरगञ्ज भेट्रान्सलाई ट्राईब्रेकरमा हराउदै विजयी हुन सफल भएको थियो ।
खेलको पहिलो हाफको २१ औं मिनेटमा चितवनका खेलाडी भुपेन्द्र कार्कीले पहिलो र दोस्रो हाफको २८ औं मिनेटमा अर्को गोल गर्न सफल भएका थिए भने खेलको ४० औं मिनेटमा रवीन्द्र श्रेष्ठले गोल थप्दै अग्रता दिलाएका थिए ।सिमराको तर्फबाट एक मात्र सान्त्वना गोल खेलको ३० औं मिनेटमा मेघनाथ अधिकारीले गरेका थिए । खेलको म्यानअफ द म्याच चितवनका खेलाडी भुपेन्द्र कार्की घोषित भएका थिए ।
मंगलबारको पहिलो खेल सानो गौचरण भेट्रान्स काठमाडौं र जोरपाटी भेट्रान्स काठमाडौं बीच हुने भनिए पनि खेलमा सानो गौचरणले कारणबस सहभागिता जनाउन नसकेपछि जोरपाटीले स्वतः बाई पाएको थियो । त्यस्तैगरी वीरगञ्ज सिटी भेट्रान्स वीरगञ्ज र अभिषेक चर्च भेट्रान्स नवलपरासी बीचको खेलमा निर्धारित समयमा कुनै समुहबाट गोल हुन नसकेपछि ट्राईब्रेकरमा अभिषेक चर्च विजयी भएको थियो । ट्राइबेकरको प्रतिस्पर्धामा अभिषेकले चर्चले ३–२ गोल अन्तरले जीत हासिल गरेको हो ।
खेलमा अभिषेक चर्चका खेलाडी शंकरगोपाल खड्की म्यान अफ द म्याच घोषित भएका थिए । प्रतियोगितामा आयोजक क्लबसहित देशभरका १६ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार रहेको क्लबका अध्यक्ष सोमबहादुर तितुङले बताएका छन् । स्वास्थ्यका लागि खेल भन्ने नाराका साथ आयोजना गर्न लागेको प्रतियोगिताले पूर्वखेलाडीहरुको मनोवल उच्च राख्न सहयोग पुग्ने उनले बताए । फाइनल खेल असोज २० गते शनिबार दिउँसो ३ बजे हुनेछ । वर्षातको कारण खेलको उद्घाटन बुधबार बिहानको लागि सारिएको अध्यक्ष तितुङले बताए ।