चैनपुर जेसीजको आयोजनामा खुला फुटबल
हेटौंडा-चैनपुर जेसीज (प्रस्तावित)ले चाडपर्वको पूर्वसन्ध्यामा जेसीज कप खुला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २३ गते मंगलबारबाट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।प्रतियोगिताको तयारीलाई तीव्र पारिएको आयोजकले बताएको छ । युवाहरुको बीचमा भ्रातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम् खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए । ‘स्थापनादेखि नै युवालक्षित विभिन्न कार्यक्रम गर्ने जमर्को रहँदै आएको छ ।’
संस्थाले विभिन्न गतिविधि गर्ने क्रममा खुला फुटबलको आयोजना गर्न लागेका हौं’, अध्यक्ष अधिकारीले भने, ‘यसको तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिता राक्सिराङमा सञ्चालन गर्ने योजना थियो वर्षाका कारण हाँडीखोलामै गर्न लागेका हौं ।’ मनहरी गाउँपालिका–३ हाँडीखोलास्थित लामिटारको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजक चैनपुर जेसीजका महासचिव रविन ढकालले बताए । प्रतियोगिताको लागि कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीको संयोजकत्वमा समिति निर्माण गरिएको छ । प्रतियोगितामा सहभागी हुन चाहने क्लव तथा संघसंस्थाले २१ गते आइतबार दिउँसोसम्म टिम दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको लागि करिब साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिता संयोजक अधिकारीले बताए ।