बाराही माविलाई स्कुल बस
हेटौंडा- भीमफेदी गाउँपालिका–४ मा रहेको बाराही माध्यमिक विद्यालयमा विद्यालय बससेवा सुरु गरिएको छ । आइतबार भीमफेदी गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष सञ्जीव श्रेष्ठको उपस्थितमा एक कार्यक्रमको आयोजना गरी बससेवा सुरु गरिएको हो ।भीमफेदी गाउँपालिकाको ३० लाख रुपैयाँ आर्थिक सहयोगमा बससेवा सुरु गरिएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रमेश आचार्यले बताए । साविक निबुवाटार गाविस हाल भीमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ गरी दुईवटा वडा बनाइएको छ ।
दुईवटै वडाको लागि माध्यमिक तहको स्कुल भने बाराही माध्यमिक विद्यालय मात्र रहेको अध्यक्ष आचार्य बताउँछन् । उनले भौगोलिक हिसाबले बिकट भएकोले स्थानीय अभिभावक र विद्यालयको माग बमोजिम गाउँपालिकाको अध्यक्ष लामा र उपाध्यक्ष श्रेष्ठको विशेष पहलमा यस विद्यालय बसको ब्यवस्था भएको बताए ।कार्यक्रमका प्रमुख अतिथि भीमफेदी गाउँपालिका अध्यक्ष लामाले आफ्नो छोटो भनाइ राख्दै ओखर, बोखर, इकचुङ, लेखपान्द्राङ, चिलाउने, गोठडाँडा, ज्याल्टार, गोल्पिङबेसी, चिउरीबगैँचालगायत स्थानबट आउने विद्यार्र्थी भाइबहिनीलाई सजिलो बनाउनको लागि बसको ब्यवस्था गरेको बताए । लामाले सबै अभिभावकलाई आग्रह गर्दै अब सरकारी विद्यालयमा नै गुणस्तरीय शिक्षा प्रदान हुने भएकोले निर्धक्क भएर आफ्ना नानीबाबुलाई विद्यालय पठाउन अनुरोध गरेका छन् ।
धेरै खर्च गरेर बोर्डिङ स्कुल हालेर मात्र पढाइ राम्रो हुने हैन स्थानीय सरकार विद्यालय व्यवस्थापन समिति विद्यार्थी र अभिभावक सक्रिय भए सरकारी स्कुलको पढाइमा कुनै कमी नहुने लामाले बताए । कार्यक्रममा वडा अध्यक्षहरुका सागर पाण्डे, जहारसिं लामा, कासिराम बज्यु, प्रकाश पुडासैनी, विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद गौतम, शिक्षक, अभिभावकको उपस्थिति रहेको थियो ।