हेटौंडामा दशैंको मौका छोपेर मूल्यवृद्धि गरिएको आरोप

साझाकुरा
२०८० आश्विन २०, शनिबार ०८:२५

हेटौंडा- हेटौंडा उपमहानगरपालिका क्षेत्र सहित मकवानपुरमा दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको मूल्यमा भारी वृद्धि भएको छ ।
आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्यवृद्धिले झनै समस्यामा परेका छन् । पछिल्लो एक वर्षको बीचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्यवृद्धि भएको पाइएको छ   यसबीचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालोबजारी नै भएको छ । बजारमा खरिद गर्ने हरेक सामानको मूल्यबृद्धिले हैरान भएको हेटौंडा–४ का उपभोक्ता उषा सापकोटा बताउँछिन् ।

दसैं अगाडि जिल्ला प्रशासन कार्यालय सहितले बजार अनुगमन तीब्र पारेका छन् । अनुगमनले पनि बजारमा मूल्यबृद्धि रोक्नका लागि खासै काम गरेको देखिदैन । कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ ले २० प्रतिशतभन्दा धेरै नाफा खाएर मालवस्तु बिक्रीवितरण गर्नुलाई कालोबजारी मानेको छ । त्यस्तो गर्ने व्यापारीलाई एक वर्षसम्म कैद र अढाई लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गरेको छ ।

यो ऐनमा भएको व्यवस्था अनुसार सरकारले तोकेको कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई एक वर्षसम्म कैद वा दुई लाख ५० हजार रुपैयाँसम्म जरिबाना वा दुवै हुन सक्ने छ तर, व्यापारीले १ सय १५ प्रतिशतसम्म नाफा खाएर उपभोक्ताको ढाड सेक्दा पनि नियामक सरकारी निकाय मूकदर्शक बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*