नागस्वती भेट्रान्स फुटबलः आयोजकको दुई टिम उपाधि नजिक

साझाकुरा
२०८० आश्विन २०, शनिबार ०८:४७

हेटौंडा- नागस्वती भेट्रान्स क्लबद्वारा आयोजित दोस्रो नागस्वती भेट्रान्स रनिङशिल्ड फुटबल प्रतियोगिता अन्तर्गत् शुक्रबार उपाधि नजिक पुग्ने दुई टिमको छिनोफानो भएको छ ।सेमिफाइनल खेलमा आयोजक समूह ‘ए’ र ‘बि’ विजयी भएसँगै फाइनलमा उपाधि होडमा छन् । पहिलो सेमिफाइनल खेलमा नागस्वती भेट्रान्स ‘ए’ ले एनआरटी भेट्रान्स काठमाडौंलाई ३–१ गोल अन्तरले पराजित गर्न सफल भएको छ । खेलको ७ औं मिनेटमा विकर्ण श्रेष्ठले पहिलो गोल गरेका थिए भने २७ औ मिनेटमा राजकुमार घिसिङले गोल थपे । खेलको ४७ औ मिनेटमा कन्या सुब्बा गुरुङले गोल गर्दै टिमलाई तेस्रो अग्रता दिलाए । एनआरटीका तर्फबाट खेलको ३३ औं मिनेटमा राजन नेपालीले सान्त्वना गोल गरेका थिए ।

शुक्रबार भएको दोश्रो सेमिफाइनल खेलमा नागस्वती भेट्रान्स ‘बि’ बिजयी भएको छ । नागस्वती भेट्रान्स ‘बि’ले चितवन भेट्रान्सलाई १–० गोल अन्तरमा पराजित गरेको छ । खेलको ४४ औं मिनेटमा नागस्वती भेट्रान्सका खेलाडी दिपेन राईले गरेको गोल नै निर्णायक बन्यो । शनिवार आयोजक नागस्वती भेट्रान्स क्लब ‘ए’ र ‘बि’ बीच फाइनल खेल हुनेछ । प्रतियोगितामा आयोजक क्लब सहित देशभरका १६ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेतालाई एक लाख १ हजार नगद सहित शिल्ड पुरस्कार उपलब्ध गराइने क्लबका अध्यक्ष सोमबहादुर तितुङले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*