जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु
हेटौंडा-हेटौंडामा शुक्रबारबाट मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ । हेटौंडा–४ स्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाभरका २१ वटा डोजाङबाट ३ सय खेलाडी सहभागी छन् । प्रतियोगितामा पुरुषतर्फ २० केजीदेखि ६२ केजी तौलसम्म तथा महिलातर्फ २० केजीदेखि ५८ केजी तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ ।
मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, सदस्य शोभा घिमिरे, मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष सुशील घिमिरे, मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा, मकवानपुर जिल्ला हक्की संघका अध्यक्ष प्रतापसिं क्षेत्री, मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयका प्रमुख माधव कोइरालाको आतिथ्यता रहेको थियो । प्रतियोगिताको विजेता र उपविजेता समूहले शिल्ड प्राप्त गर्नेछन् ।