वक्तृत्वकलामा जिएसका आदर्श प्रथम
हेटौंडा- विज्ञान शिक्षक समाज नेपाल (स्टान) मकवानपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जीएस निकेतन विद्यालयका आदर्श पौडेल प्रथम भएका छन् । नवोदय शिशुसदन अंग्रेजी माध्यमिक विद्यालयमा भएको ‘समृद्ध समाज निर्माणका लागि विज्ञान शिक्षाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा पौडेल प्रथम भएका हुन् । जीएसकै प्रतिशा कार्की द्वितीय, चण्डीका माध्यमिक विद्यालयकी तेजकुमारी बास्कोटा तृतीय, बालजागृति इंग्लिस सेकेण्डरी बोर्डिङ स्कूलका छात्रा रीतिका छत्कुली र नवोदय शिशुसदन विद्यालयको छात्रा विदुषी हुमागाई सान्त्वना हुन सफल भए ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगद ६ हजार, ५ हजार, ४ हजार, ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । स्टान मकवानपुरले आयोजनागरेको गाउँपालिका र नगरपालिकामा विजयी भएका २५ जना विद्यार्र्थीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।प्रतियोगितामा साहित्यकार देवराज तिवारी, चिरन्जीवि लामिछाने र शान्तिप्रिय बन्दनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । स्टान मकवानपुरका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो ।