चाडपर्वलक्षित बजार अनुगमन पुरानै ढर्रामा, कठिन बन्दै नागरिकको जीवनयापन

सरला खनाल
२०८० आश्विन २२, सोमबार १०:४७

हेटौंडा- चाडपर्वको समयमा अप्रत्यासित रुपमा मूल्यवृद्धि गर्ने, कालोबजारी, कृत्रिमअभाव, न्यून गुणस्तरका सामान बिक्री गर्ने समस्या पुरानै हो । सरकारी संयन्त्रले अनुगमन पनि गरिरहेकै छ तर, कालोबजारी गर्नेहरु पनि एक कदम अगाडि नै छन् । सरकारी संयन्त्रको अनुगमन पुरानै ढर्रामा चलिरहेको छ ।प्रहरी, प्रशासन कार्यालयले गर्ने अनुगमन प्रायः उजुरी परेपछि मात्र अनुगमन हुने गरेको छ । उपभोक्ता अधिकारबादीहरु पनि आफूलाई फाइदा हुने बिषयमा मात्रै सरोकार राख्ने गरेका छन् । आर्थिक मन्दीले सर्वसाधारणको जीवनयापन अत्यन्तै कष्टकर बन्दै गएको अवस्था छ । हाम्रो आफ्नो उत्पादन नभएको बस्तुमा त झन भन्सारबाटै अण्डर बिलिङमा सामान आयात हुन्छ र महँगोमा बिक्री भइरहेको छ ।

स्वदेशमा उत्पादन गर्न सकिने उपभोग्य बस्तु पनि विदेशबाट आयात भइरहेको छ ।आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसदहरुले मूल्यवृद्धि गर्ने, कालोबजारी, कृत्रिमअभावलगायतका विषय सम्बोधन गर्नका लागि संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरु पनि संसदमा बोल्ने बाहेक केही हुन नसकेको आरोप लाग्ने गरेको छ । उपभोक्ता बजार अनुगमन, सवारी टिकटको सहज व्यवस्थापन, दैनिक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति, शान्तिसुरक्षा कायम गर्नेलगायतका विषयमा सांसदहरुले सदनमाबोलेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत असोज ५ गतेको कार्यालय प्रमुखको बैठकमा चाडपर्वको समयमा नियमित बजार अनुगमन गर्ने ब्यवस्था मिलाउन सबै पालिकाले अनुगमन गर्ने गराउने ब्यवस्था मिलाउन आग्रह गरेको छ । बिषयगत कार्यालयहरुले पनि नियमित एबम् आकस्मिक रुपमा बजार अनुगमन गर्ने, गराउने ब्यवस्था गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रजिअ तथा सूचना अधिकारी झरेन्द्रप्रसाद चापागाईंका अनुसार प्रशासनले चाडपर्वको मौकामा हुनसक्ने कालोबजारी, कृत्रिम अभाव सृजना गर्नेलाई नियमित अनुगमन गरी कानुनी कारबाहीको दायरा ल्याउने काम भइरहेको छ ।

जिल्ला प्रशासनले चाडपर्वलक्षित बजारअनुगमन थालेको बताइएको छ । हेटौंडा उपमहानगर भित्रका खाद्यान्न, लत्ताकपडा, भाँडा, रंगलगायतका १२ वटा पसलमा आइतबार अनुगमन गरिएको छ । अनुगमनका क्रममा बिल बिजक नराखिएका, दर्ता नभइ सञ्चालन गरिएका, म्याद गुज्रेका सामान बिक्री गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चापागाईँले जानकारी दिए । म्याद नाघेको रंग बिक्री गर्ने हेटौंडाको एक पसललाई अनुगमन टोलीले १० हजार रुपैयाँ जरिवाना गराएको छ । दर्ता नभएको भाँडा पसललाई सम्बन्धित निकायमा दर्ता गर्न अनुगमन टोलीले निर्देशन दिएको सहायक प्रजिअ चापागाईले बताए ।

चाडबाड लक्षित बजार अनुगमनले निरन्तरता पाउने बताउँदै सहायक प्रजिअ चापागाईँले व्यापारी र आम उपभोक्तालाई सचेत गराउन, सम्भावित कालोबजारी रोक्न अनुगमनले मद्दत पुग्ने विश्वास व्यक्त गरे । बजार अनुगमन अन्य स्थानीय तहमा पनि गरिने उनले जानकारी दिएका छन् । जिल्ला प्रशासनको समन्वयमागरिएको बजार अनुगमनमा उद्योग वाणिज्य कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, उपभोक्ता हितसंरक्षण मञ्च, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

तर, यो अनुगमनकै भरमा आमउपभोक्ताले भोग्नु परेको चर्को महँगी, कालोबजारी र गुणस्तरहीन वस्तुको समस्या समाधान हुने अवस्था छैन । जनस्वास्थ्यसँग जोडिने, उपभोग्य अधिकारसँग जोडिने
कुरामा हालसम्मको प्रयास प्रभावकारी देखिदैन । खाद्यान्न, तरकारीजन्य वस्तुमा प्रयोग भइरहेको हानिकारक विषादिको बिषयमा कुरा उठाउने मात्र काम भएको छ । समाधान निकाल्ने निकाय चुपचाप देखिन्छ । बाहिरबाट आयात गरिएका फलफूल, तरकारी, खाद्यसामग्रीमा विषादि परीक्षण गर्ने कुरा भाषणमा मात्र सीमित भएको छ ।

नेपालको अधिकांश युवा जनशक्ति विदेशिनु, कृषिक्षेत्रको उत्पादनमा सुधार हुन नसक्नु, गुणस्तरहीन आयातलाई सरकारले निर्वाद भित्रन दिनु, ब्यापारीले मनलाग्दी मूल्यबृद्धि गर्दा कडा कारबाही गर्न नसक्नु सरकारको कमजोरी हो । खाद्यअधिकार संजाल मकवानपुरका संयोजक बोलबहादुर कार्कीले आइतबार एक बिज्ञप्ती प्रकाशन गर्दै नजिकिदै गरेको नेपाली चाडपर्वको समयमा बजारमा म्याद गुज्रेको, लेवल नलगाइएको, गुणस्तरहीन, अखाद्य सामग्री पाइएको उल्लेख गरेका छन् ।

खाद्यान्न, पेयपदार्थ, लत्ताकपडा, सौन्दर्यप्रसाधन, औषधि आदि बस्तुको अधिकतम मूल्य(एमआरपी) भन्दा बढी मूल्यमा विक्री वितरण भएको पाइएको संयोजक कार्कीले बताएका छन् । ‘सम्वन्धित सरोकारवाला निकायको ध्यानाकर्षण गराउदै संयोजक कार्कीले उपभोक्ताअधिकार र खाद्यअधिकार संरक्षणमा स्थानीय तह, जिल्ला र प्रदेश तहका सम्बन्धित अनुगमन समिति तथा निकायलाई बजारको नियमित अनुगमन गरी उपभोक्ताको खाद्यअधिकार प्रत्याभूति गराउन नागरिकसमाज संघ÷संस्थाका प्रतिनिधि सम्बन्धित सबैको ध्यानाकर्षण गर्दछौं’–बिज्ञप्तीमा भनिएको छ ।

खाद्यअधिकार जिल्ला सञ्जाल मकवानपुर जिल्लामा क्रियाशील किसानको सवालमा काम गर्ने किसान संघ÷संगठन साथै विभिन्न नागरिकसमाज संघ÷संस्थाहरुको साझा सञ्जाल भएको र यस सञ्जाल खाद्यअधिकारको कानूनी र व्यवहारिक रुपमा कार्यान्वयन गर्न नागरिकस्तरमा सचेतना अभिवृद्धि गर्ने र सरकारी तहमा समन्वय सहकार्य गरी खाद्यअधिकारको नीति निर्माण र नीति कार्यान्वयन गर्न सक्रिय रहिआएको बताइएको छ ।

सञ्जालको असोज २१ गते हेटौंडामा बसेको बैठकले उपभोक्ता, उत्पादन, वितरक र नियमन गर्ने निकायको भूमिकाको विषयमा व्यापक छलफल गर्दै यात्रुलक्षित होटलमा यात्रुमैत्री वातावरण र खाना, खाजाको गुणस्तर र मापन भन्दा बढी मूल्यमा विक्री भएको विषयको उठान भएका बताइएको छ । बजार क्षेत्रका ब्यवसायीहरु आर्थिक मन्दीका कारण बिगतको वर्षमा जस्तो यो वर्ष ब्यवसाय नचलेको बताइरहेका छन् । बजारमा किनमेल हुनै छोडेको ब्यापारीहरुले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*