आयोजकले जित्यो नागस्वती भेट्रान्सको उपाधि

साझाकुरा
२०८० आश्विन २२, सोमबार १०:५४

हेटौंडा- हेटौंडा–८ नागस्वतीमा भएको दोश्रोे नागस्वती भेट्रान्स राष्ट्रिय रनिङशिल्ड फुटबल प्रतियोगिताको उपाधि आयोजकको ‘ए’ टिमले जितेको छ । फाइनल खेलमा आयोजक नागस्वती भेट्रान्स ‘ए’ले आयोजकै नागस्वती भेट्रान्स क्लव ‘बि’लाई ट्राइब्रेकरमा ३—२ गोल अन्तरमा पराजित गरेको थियो । निर्धारित समयमा दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । नागस्वती भेट्रान्स क्लव ‘ए’ले नगद २ लाख एक हजार र उपविजेता नागस्वती भेट्रान्स क्लव ‘बि’ले एक लाख एक हजार प्राप्त गरेसँगै शिल्ड प्रमाणपत्र तथा ट्रफी प्राप्त गर्न सफल भएका थिए । गतवर्षबाट सुरु प्रतियोगिताको डिफेन्डिङ च्याम्पिएन पनि आयोजक नै थियो ।

बागमती प्रदेशका प्रदेशसदस्य एकलाल श्रेष्ठले विजेता, उपविजेता हुने टिमलाई पुरस्कार वितरण गरेका थिए । उनले पुरस्कार वितरण गर्दै खेलकुद विकासका लागि र स्वास्थ्यका लागि आयोजना गरिएको प्रतियोगीताले युवा–पुस्ताका खेलाडीहरुलाई पनि प्रोत्साहन मिल्ने बताए । ४० वर्ष माथि समूहका खेलाडीहरुको पछिल्लो समय फुटबल खेलप्रति बढेको आर्कषणले सिंगो खेल क्षेत्रमा देशभर चलयमान बढेको उनले बताए ।

प्रतियोगितामा नागस्वती भेट्रान्स क्लव ‘ए’का तर्फबाट वेष्ट कोच दीपक अर्याल, वेष्ट गोलकिपर दिलिप क्षेत्री, वेष्ट फरर्वाड दिपेन राई र नागस्वती भेट्रान्स क्लव ‘बि’का तर्फबाट वेष्ट मिडफिल्डर राजकुमार घिसिङ, वेष्ट डिफेन्स कन्या सुब्बा र सर्वोत्कृष्ट खेलाडी नागस्वती भेट्रान्स क्लव ‘ए’का तर्फबाट ५१ वर्षीय खेलाडी प्रकाश रानामगर घोषित भएका छन् । सर्वोत्कृष्ट खेलाडी मगरलाई नगद ५० हजार पुरस्कार र अन्य विधागत उत्कृष्ट खेलाडीलाई जनही १० हजारकादरले पुरस्कार प्रदान गरिएको क्लबका अध्यक्ष सोमबहादुर तितुङले जानकारी दिए ।

कार्यक्रममा हेटौंडा–७ का वडाअध्यक्ष दामोदर गौतम, वडा नम्बर ९ का वडाअध्यक्ष सुकराम केसी, हेटौंडा–५ का वडाअध्यक्ष सुशील घिमिरेलगायतले फुटबल खेलमा नागस्वती भेट्रान्सले छोटो समयमा उल्लेख्य गतिविधिहरु आयोजना गर्दै खेलको विकासमा योगदान दिएको चर्चा गरेका थिए । प्रतियोगितामा आयोजक क्लबसहित देशभरका १६ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*