हाँडीखोलामा आजदेखि जेसीज कप फुटबल

साझाकुरा
२०८० आश्विन २३, मंगलवार ०९:१९

हेटौंडा-चैनपुर जेसीज (प्रस्तावित)को आयोजनामा आजदेखि जेसीज कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । चाडपर्वको अवसर पारेर राक्सिराङमा गर्न लागिएको प्रतियोगिता वर्षाका कारण हाँडीखोलामै हुन लागेको हो ।प्रतियोगिताको तयारी पूरा भएको चैनपुर जेसीजका अध्यक्ष गणेश दर्पण अधिकारीले जानकारी दिए । प्रतियोगितामा १६ टिम सहभागी भएर उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् आयोजकले खेल तालिका सार्वजनिक गरेको छ । पहिलो दिन नै दुई खेल हुनेछ । पहिलो खेल सिमपानी युवा क्लव र मनहरी–४ वडा फुटबल टिमको हुनेछ भने दोस्रो खेलमा खरंगा एफसी र हाँडीखोला यूथ क्लव खेल्नेछ । युवाको बीचमा भातृत्वको सम्बन्ध स्थापना, चाडपर्वको शुभकामना आदानप्रदान एवम खेलकुदको विकासका निम्ति प्रतियोगिता गर्न लागिएको चैनपुर जेसीजका अध्यक्ष अधिकारीले जानकारी दिए ।

‘प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको छ । प्रत्येक दिन दुई÷दुईवटा खेल हुनेछ । प्रतियोगिताको तयारी करिब पूरा भएको छ’, जेसीजका अध्यक्ष अधिकारीले भने, ‘प्रस्तावित शाखा हौं । प्रतियोगितालाई सभ्य र भव्य बनाउन आवश्यक तयारी गरेका छौं ।’, जेसीजले स्थापनादेखि नै युवा लक्षित विभिन्न कार्यक्रम गर्ने जमर्को गर्दै आएको छ । मनहरी गाउँपालिका–३, हाँडीखोलास्थित लामिटारको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार ५५५ रुपैयाँ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक चैनपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष प्रमोद अधिकारीले जानकारी दिए ।विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि करिब साढे ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक जेसीजका महासचिव रविन ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*