जेसीज कप सुरुः सिमपानी र हाँडीखोला विजयी

साझाकुरा
२०८० आश्विन २४, बुधबार ०९:४५

हेटौंडा-चैनपुर जेसीज (प्रस्तावित) को आयोजनामा मंगलबारबाट मनहरी गाउँपालिकामा सुरु भएको जेसीज कप फुटबल प्रतियोगितामा सिमपानी एफसी र हाँडीखोला यूथ क्लव विजयी भएको छ ।उद्घाटन खेलमा सिमपानीले मनहरी–४ फुटबल टिमलाई २–० ले हरायो । सिमपानीका लागि दुवै गोल राहुल थापा मगरले गरे । उनी नै खेलको म्यान अफ द म्याच घोषित भए । दोस्रो खेलमा हाँडीखोलाले खरंगा एफसीलाई १–० ले हरायो । पहिलो हाफको अतिरिक्त समयमा विशाल प्रजाले गरेको गोल नै निर्णायक बन्यो । खेलको म्यान अफ द म्याच अभिषेक राई भए । कात्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मकवानपुरका १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीलाई पनि नगदसहित ट्रफीको व्यवस्था
रहेको छ । प्रतियोगिताको उद्घाटन मनहरी गाउँपालिकाका कार्यबाहक अध्यक्ष शिवप्रसाद खनालले गरेका हुन् । उनले मकवानपुरको पश्चिमी क्षेत्रमा क्रियाशील जेसीजसँग सहकार्यका लागि मनहरी गाउँपालिका तयार रहेको बताए ।

चैनपुर जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षता एवम् कार्यक्रम संयोजक प्रमोद अधिकारीको संयोजकत्वमा भएको उद्घाटन समारोहमा मनहरी गाउँपालिका–५ नम्बर वडाअध्यक्ष दीपेन्द्र अधिकारी, नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नविन सुवेदी, जेसीआई हेटौंडाका अध्यक्ष श्रवणकुमार बर्तौला, चैनपुर जेसीजका श्रीकृष्ण ढकाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
जारी प्रतियोगितामा बुधबार बागमती प्रदेश प्रहरी गण हेटौंडा र रियल स्टार युवा क्लवको बीचमा खेल हुनेछ । चैनपुर जेसीजले मकवानपुरको पश्चिमी क्षेत्रका युवालाई समेट्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने अध्यक्ष अधिकारीले प्रतिबद्धता जनाए ।

कार्यक्रममा मनहरी–७ नम्बर वडाअध्यक्ष ठाकुरराम तितुङ, ३ नम्बरका कार्यबाहक अध्यक्ष हीराबहादुर प्रजा, ४ नम्बर वडाअध्यक्ष प्रकाश थापा, कांग्रेस जिल्ला सदस्य नुरज पौडेल, मनहरी सभापति प्रकाश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति सञ्जीव पाठक, कांग्रेस मनहरी–८ का वडासभापति भीमसेन लामा, बसामाडी जेसीजका अध्यक्ष जनक भण्डारी, हेटौंडा लेडी जेसीजका अध्यक्ष दिलु घर्ती, मकवानपुरगढी प्रस्तावितका अध्यक्ष पुष्पराज पुडासैनी लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*