मकवानपुरका अञ्जन र आयुष सम्मिलित नेपाली फुटबल टिमको घोषणा
हेटौंडा- मकवानपुरका फुटबल स्टार अञ्जन विष्ट र आयुष घलान राष्ट्रिय टिममा अटाएका छन् । अञ्जन र आयुष राष्ट्रिय टिममा विगतदेखि नै सम्मिलित छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । जसमा अञ्जन र आयुष फर्वाडका लागि राष्ट्रिय टिममा सहभागी भएका हुन् । हेटौंडा–१० भुटनदेवी मन्दिररोडका अञ्जन स्थानीयस्तरमै फुटबल सिक्दै एन्फा एकेडेमी हुँदै राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य छन् । हेटौंडा–१८ हर्नामाडीका घलान भने काठमाडौंमै हुर्किएर उतै अभ्यस्त भएपछि राष्ट्रिय टिममा अटाएका हुन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले नयाँ खेलाडी अमृत श्रेष्ठ र सञ्जीव विष्टलाई समेट्दै २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । प्रशिक्षक एनेसेले लाओस विरुद्धको खेल आफ्ना लागि अवसर भएको बताउँदै टिममा रहेका नयाँ र ऊर्जावान युवाको सहभागिताले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले लाओसविरुद्धको खेलका लागि आफनो टोलीले राम्रो अभ्यास गरेको बताए ।
छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू, दीप कार्की र अभिषेक बराल छन् । डिफेन्डरमा सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी र अमृत श्रेष्ठ छन् । मिडफिल्डरमा एरिक विष्ट, सुदिप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुन्जु र मनिष डाँगी छन् भने फरवार्डमा अन्जन विष्ट, आयुष घलान, जिलेस्पेजंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट रहेका छन् । हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यूरोड टिमका फरवार्ड सञ्जीव विष्ट पहिलोपटक राष्ट्रिय टोलीमा प्रवेश गरेका हुन् ।
विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले आज (बिहीबार) साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । होम एन्ड अवेका आधारमा हुने छनोट खेलमा नेपालले लाओससँग दोस्रो खेल यही असोज ३० गते उसकै मैदानमा खेल्नेछ । यस खेलको विजेता टोलीले विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । नेपालले यसअघि पनि विश्वकप छनोटअन्तर्गत लाओससँग प्रतिस्पर्धा गरेको थियो ।