पशुपतिनाथका विद्यार्थीलाई नियमितताका लागि साइकल
हेटौंडा- मनहरी–४ ज्यामिरेकी सुजाता थिङलाई दैनिक २ घण्टाको पैदलयात्रा गरी विद्यालय आउने र घरजाने समय बचत हुने कुराले खुशी लागेको छ । बिहीबार विद्यालयले साइकल दिएपछि कक्षा १० मा अध्ययनरत सुजाताको एक घण्टा भन्दा बढी समय बचत हुने भएको छ । विद्यालय आउने र जाने समय बचेपछि आगामी दिनमा त्यो समय पढाइमा लगाउन पाइने भएको छ । मनहरी–४ स्थित चुवारपाखाका प्रमोद मोक्तान (कक्षा १०) लाई पनि विद्यालयले उपलब्ध गराएको साइकलले विद्यालय आउने जाने समय बचेको छ । प्रमोदलाई पनि विद्यालयले दिएको साइकलले समय बचत हुने र पढाईमा थप समय दिन पाउने भएपछि खुशी लागेको छ ।
सुजाता र प्रमोद जस्ता पशुपतिनाथ माविका एक सय १५ जना विद्यार्थीले बिहिीबार साइकल पाएका छन् । विद्यालयले टाढाबाट पैदल आउनुपर्ने विद्यार्थीलाई समय बचत गर्नका लागि साइकल उपलब्ध गराएको हो ।वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालको एकमात्र विद्यालयको रुपमा परिचित पशुपतिनाथ माविमा अध्ययन गर्न आउने केही बालबालिका अढाई घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । बालबालिकाको नियमित उपस्थितिका लागि विद्यालयले साइकल वितरण गरेको हो । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–४ मसिनेमा रहेको पशुपतिनाथ माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ११५ जना विद्यार्थीलाई साइकल वितरण गरेको हो ।
विद्यालयले बस संचालन गर्ने सोच बनाएको थियो तर, बस संचालनमा धेरैखालका चुनौती देखिएपछि विद्यालय बसको बिकल्पमा साइकल वितरण गरिएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमले बताए । बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकी हुन् । विब्यस अध्यक्ष गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा मन्त्री मोक्तानले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरेर प्रशंसनीय काम गरेको धारणा ब्यक्त गरिन् ।
बीचैमा विद्यालय छाड्ने समस्या, विद्यालय आउनेजाने समयमा भएको बचतले केही हदसम्म भएपनि बालबालिकालाई राहत हुने मन्त्री मोक्तानले बताइन् । उनले ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी भर्ना बढाउने र टिकाइ राख्नका लागि प्रदेश सरकारले पनि सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरिन् । साइकल पाएका विद्यार्थीको अध्ययनमा सुधार आउनुपर्ने कुरामा जोड दिदै मन्त्री मोक्तानले भनिन्–‘अभिभावकले पनि आफ्ना नानीबाबुलाई निगरानी गर्न आवश्यक छ ।’
मनहरी गाउँपालिकाका कार्यबाहक अध्यक्ष शिबप्रसाद खनालले विद्यालयले बालबालिकाको शैक्षिक अवस्था सुधार गर्नका लागि निरन्तर लागिपरेको भन्दै साइकलले टाढाबाट आउने बालबालिकालाई राहत पुग्ने बताए । पशुपतिनाथ माविको शैक्षिकस्तर बिगतमा पनि राम्रै रहेकोले आगामी दिनमा अझै थप सुदृढ हुने अपेक्षा रहेको कावा अध्यक्ष खनालले बताए । बालबालिकाको अभिभावकले विद्यालय पठाएर ढुक्कसँग बस्ने गरेको बताउँदै कावा अध्यक्ष खनालले भने–‘अभिभावकको निगरानी कमजोर भयो भने बालबालिकामा गरिएको सबै लगानी खेर जानेछ ।’
विद्यालयले वडा नम्बर ४ को आर्थिक सहयोगमा विद्यार्थीका लागि साइकल खरिद गरेको प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिए । यो साइकल सही रुपमा उपयोग गर्न आग्रह गर्दै प्रअ आचार्यले विद्यार्थीको समय बचत हुने, सीप सिक्ने, शारीरिक स्वस्थ्यता कायम गर्ने, पैसा बचत गर्ने जस्ता फाइदा लिन विद्यार्थीलाई आग्रह गरे । साइकल दुरुपयो भएको थाहा हुनेबित्तिकै विद्यालयले फिर्ता लिनसक्ने चेतावनी पनि प्रअ आचार्यले दिएका छन् ।
मनहरी–४ का वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपैयाँ बजेटबाट ११५ थान साइकल खरिद गरी वितरण गरिएको हो । वडाअध्यक्ष थापाले विद्यालय आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नुपर्ने बाध्यता भएका विद्यार्थीका लागि यसबाट सहजता पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा गाउँशिक्षा प्रमुख प्रदीप पराजुली, पूर्ववडाअध्यक्ष ध्रुब खड्का, विब्यस पूर्वअध्यक्ष रामहरि बिष्टलगायतले साइकलको सही उपयोग गरी बालबालिकाको शिक्षा आर्जमा सुधार गर्न आग्रह गरेका छन् ।
विद्यालयमा ५३९ जना बालबालिका अध्ययन गरिरहेका छन् । गत एसइइ परीक्षामा यो विद्यालयबाट ४० जनाले परीक्षा दिएका र सबै विद्यार्थी उत्तीर्ण भई उच्चशिक्षा अध्ययनका लागि योग्य भएको विद्यालयले जनाएको छ । अधिकतम २ घण्टा ३० मिनेटको पैदलयात्रा गरी विद्यार्थी आउने गरेका छन् । वनकरिया, दनुवार राई, चेपाङ, तामाङ, दलित समुदायका बालबालिका यो विद्यालयमा अध्ययन गरिरहेका छन् ।