विद्यालयस्तरीय फुटबलः उपाधि होडमा चन्द्रोदय र निर्मल

साझाकुरा
२०८० आश्विन २७, शनिबार १२:४९

हेटौंडा-हेटौँडामा जारी कृष्णप्रसाद दाहाल स्मृति मकवानपुर जिल्ला विद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि निर्मल माध्यमिक विद्यालय र चन्द्रोदय मावि भिड्ने भएका छन् ।शुक्रबार गौरीटार रंगशालामा भएको सेमिफाइल खेलमा निर्मल मावि बस्तीपुरले गोरक्षेश्वर मावि हेटौँडा–१८ लाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । यस्तै, चन्द्रोदय मावि हेटौँडा–८ र जनजागृति मावि हेटौँडा– १५ बीच भएको खेल ट्राइब्रेकरमा टुंगो लागेको थियो । प्रतिस्पर्धापूर्ण खेलमा दुवै टिमले खेलको निर्धारित समयमा बराबरी १–१ गोल गरेपछि खेल ट्राइब्रेकरमा टुंगो लागेको हो । ट्राइब्रेकरमा चन्द्रोदय माविले ४ र जनजागृति माविले २ गोल गरेका थिए ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुँदै आएको यस प्रतियोगिताका लागि यसवर्षबाट अष्ट्रेलियमा बस्दै आएका हेटौंडा–२ निवासी रोशनप्रसाद दाहालले प्रतियोगिताको प्रायोजन गरेका छन् । दाहालले आफ्ना पिता कृष्णप्रसाद दाहालको स्मृतिमा प्रतियोगिता सञ्चालन गर्ने गरी प्रायोजन गरेका हुन् । फुटबल संघको तर्फबाट जिल्ला अध्यक्ष टीकाराम लामा र दाहालबीच प्रायोजन गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । फुटबल प्रतियोगिताका लागि चालु आर्थिक वर्ष २०८०÷८१ देखि पाँच वर्षका लागि प्रायोजनको जिम्मेवारी दाहालले लिएका हुन् ।

प्रायोजनवापत दाहालले प्रत्येक वर्ष एक लाख रुपैयाँ दिने र सो रकममा प्रत्येक दुई वर्र्षमा २० प्रतिशतका दरले वृद्धि हुने सहमति भएको छ । दाहाल अष्ट्रेलियाको मेलबर्नस्थित रोयल वेस्टर्न क्लबका अध्यक्षसमेत हुन् । प्रतियोगिताको उपाधिका लागि शनिबार फाइनल खेल हुने भएको छ । विजेताले ५० हजार, उपविजेताले २५ हजार नगदसहित शिल्ड, प्रमाणपत्र तथा मेडल प्राप्त गर्नेछन् । फुटबल प्रतियोगितामा २९ विद्यालयको सहभागिता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*