जेसीआई फुटबलः प्रहरी र सिमपानी सेमिफाइनलमा

साझाकुरा
२०८० आश्विन २८, आईतवार ०९:१३

हेटौंडा- जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका–३ हाँडीखोला लामिटारमा सञ्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरीगण र सिमपानी एफसी सेमिफाइनल प्रवेश गरेका छन् ।शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा प्रहरीले हाँडीखोला यूथ क्लवलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । प्रहरीको तर्फबाट देव सुनारले २ तथा दीपक घलेले एक गोल गरेका हुन् । खेलमा प्रहरीले नै सुरुवाती अग्रता लिएको थियो । हाँडीखोलाको तर्फबाट अभिनाश राईले एक गोल गरेका थिए । हाँडीखोलाले पेनाल्टी समेत सदुपयोग गर्न सकेन । बिनय तामाङको पेनाल्टी प्रहारलाई प्रहरीका गोलरक्षक मनोज पुनले बचाएका थिए । खेलमा प्रदेश प्रहरीगणका विशाल थिङ म्यान अफ दी म्याच भए ।

दोस्रो खेलमा एफसी परेली बस्तिपुरलाई टाइब्रेकरमा हराउँदै सिमपानी एफसीले सेमिफाइनलमा स्थान बनाएको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा परेली खेलबाट बाहिरिएको हो । निर्धारित समय एक÷एक गोलको बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा सिमपानी ४–३ गोलले विजयी भएको हो । खेलमा बस्तिपुरको तर्फबाट आशिष लामा र सिमपानीको तर्फबाट मनिष पौडेलले गोल गरेका थिए । टाइब्रेकरमा बस्तिपुरको एउटा प्रहार बाहिरिएको थियो भने एउटा प्रहार बारमा लागेर फर्किएको थियो । खेलको म्यान अफ द म्याच परेलीका सुशान्त थिङ भए ।

कार्तिक १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको बिजेताले ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई नगद र ट्रफीको व्यवस्था गरिएको छ । प्रतियोगितामा आइतबार आयोजक जेसीआई चैनपुरले केदारेश्वर युवा क्लव रजैयासँग र हाँडीखोला एफसीले सयपत्री क्लव सुनाचुरीसँग खेल्नेछ । दशैं, तिहारलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने र खेलाडीहरुको बीचमा भातृत्वको सम्बन्ध स्थापनासँगै फुटबल खेलको विकास गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक प्रमोद अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*