आशिष थापाले जिते हेटौंडा साइकल रनको उपाधि

साझाकुरा
२०८० आश्विन २८, आईतवार ०९:३७

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आयोजना गरेको ‘हेटौंडा साइकल रन’ दोश्रो संस्करण २०८० को उपाधी हेटौंडा–६ का आशिष थापामगरले हात पारेका छन् । हेटौंडामा शनिवार भएको प्रतियोगितामा सहभागीलाई उछिन्दै आशिषले उपाधि हात पारेका हुन् ।प्रतियोगितामा प्रथम भएका आशिषले नगद ५० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा हेटौंडा–६ का हरेराम राई द्वितीय, हेटौंडा–२ का विबैसिं मोक्तान तृतीय हुँदा हेटौंडा–४ का राजीव ठाकुर र प्रदीप थापाले प्रोत्साहन पुरस्कार हात परेका थिए ।

साइकल रनमा द्वितीय भएका राईले ३० हजार पाउँदा तृतीय भएका मोक्तानले २० हजार रुपैयाँ पुरस्कार हात पारेका थिए । प्रतियोगितामा सहभागी भएका ठाकुर र थापाले प्रोत्साहन पुरस्कार स्वरुप ५÷५ हजार रुपैयाँ हात पारेका छन् ।प्रतियोगितामा सहभागी भएका महिलाहरुलाई प्रोत्साहन स्वरुप २÷२ हजार रुपैयाँ पुरस्कार दिइएको थियो । हेटौंडा–४ हुप्रचौरबाट सुरु भएको साइकल रन कान्तिलोकपथ हुँदै शिवम सिमेन्ट रोड, हेटौंडा–फापरवारी सडक हुँदै नागश्वती, कमाने, गर्दोही हुँदै हुप्रचौरमा आइपुगेको थियो । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख ललित घलान र हेटौंडा उपमहानगरपलिकाका नगरप्रमुख मीनाकुमारी लामाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै समन्वय समितिका प्रमुख घलानले स्वास्थ्थका लागि साइकल यात्रा उपयोगी रहेकाले दैनिक जीवनमा बिलासिताका साधन छोडेर साइकलयात्रामा जोड दिन जरुरी रहेको बताए । उनले उपमहानगरले थालेको अभियानलाई सार्थक बनाउँन नगरवासीको सहयोग आवश्यक रहेको भन्दै नियमित साइकलयात्राले मानवजीवनमा फाइदा पुग्ने बताए । नगरप्रमुख लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१ का अध्यक्ष सविन न्यौपाने, हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्का, नगर खेलकुद विकास समितिमा पूर्वअध्यक्ष चन्द्र शाहीको आतिथ्यता रहेको थियो । उपमहानगरपालिकाले गत वर्षबाट प्रतियोगिताको थालनि गरेको हो । उपमहानगरले नगरवासीलाई साइकलको प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्य अनुसार हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*