मकवानपुरको सीमानामा २८ अर्बको हाइड्रो बन्दै

साझाकुरा
२०८० आश्विन ३०, मंगलवार १०:३३

हेटौंडा-मकवानपुरको पूवी सीमाना बागमती गाउँपालिका क्षेत्रमा करिब २८ अर्ब रुपैयाँको लागतमा कोखाजोर जलविद्युत आयोजना निर्माणमा हुने भएको छ । बागमती प्रदेशको ३ जिल्लामा निर्माण हुने कोखाजोर जलविद्युत आयोजनामा २७ अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । परियोजनाको वातावरणीयप्रभाव मूल्यांकन रिपोर्ट सार्वजनिक भएको छ । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि हालै सूचना सार्वजनिक गरेको छ । ६३ मेगावाट क्षमताको जलविद्युत आयोजना काभ्रे, सिन्धुली र मकवानपुरको सीमानामा निर्माण हुन लागेको हो । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. १, ३ र ५ तथा मरिण गाउँपालिका वडा नं. १ र २, काभ्रेको महाभारत गाउँपालिका वडा नं. १, ६ र ८ तथा खानीखोला गाउँपालिकाको वडा नं. ४ र ५ र मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. १, ५ र ९ मा आयोजना निर्माणका लागि प्रस्ताव गरिएको हो ।

आयोजनाबाट वार्षिक उत्पादन ३०५.९६ गिगावाट आवर रहेको बताइएको छ । आयोजनाको बाँधक्षेत्र समुद्री सतहबाट ४२२ मिटरदेखि ४६० मिटरसम्मको उचाइमा रहनेछ । बाँधक्षेत्रको जलाशय समुद्री सतहदेखि ४६० मिटरको उचाइमा रहनेछ । आयोजनामा ७६७५ मिटर लम्बाइको हेडरेस टनेल, सय मिटर उचाइ र ७ मिटर व्यास भएको सर्ज साफ्ट, ८२५.२५ मिटर लामो पेनस्टक पाइप र विद्युतगृहको लम्बाइ चौडाइ २६ मिटर र उचाइ ३२ मिटर रहने बताइएको छ । आयोजनाबाट उत्पादित विद्युत करिब ७ किलिमिटर लामो १३२ के.भी डबल सर्किट प्रसारण लाइनमार्फत् फापरबारी सबस्टेशनमा जोडिनेछ । प्रस्तावित आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको क्षेत्र निर्धारण तथा कार्यसूची ११० मेगावाटमा स्वीकृत गरिएको थियो । आयोजनाको हाइड्रोलोजिकल परिमार्जन गर्दा प्रस्तावित बाँध क्षेत्रको औसत मासिक बहावमा परिवर्तन भएको र सोअनुसार आयोजनाको जडित क्षमता घटेर ११६ मेगावाट बाट १०४ मेगावाट अनुमान गरिएको थियो ।

आयोजनाको जडित क्षमता १०४ मेगावाट हुँदा पिकिङ अपरेशन सयम ६ घण्टा रहेकोमा हाल १० घण्टाको पिकिङ अपरेशन हुँदा जडित क्षमता ६३ मेगावाट हुने आयोजना लागत कम हुने तर, वार्षिक कुल ऊर्जा उत्पादन १०४ मेगावाट र ६३ मेगावाट जडित क्षमतामा करिब बराबर हुने देखिएकोले आयोजनाको जडित क्षमता ६३ मेगावाट कायम गरिएको स्रोतले बताएको छ ।यस्तै, बागमती प्रदेशको सिन्धुपाल्चोकमा ३५.५२ मेगावाट क्षमताको ब्रह्यायणी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि हालै सूचना सार्वजनिक गरेको छ । आयोजनाको लागत ७ अर्ब हुने अनुमान गरिएको छ । ब्रह्यायणी हाइड्रोपावर कम्पनी प्रालि प्रस्तावक रहेको आयोजना जुगल गाउँपालिकामा निर्माण हुनेछ । आयोजनाको हेडवक्र्स लगनखोलाको दायाँ किनारमा लदनबेसीमा अवस्थित लगनखोला र मसालखोलाको संगमस्थलबाट ५ सय मिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ ।

आयोजना रन अफ रिभर प्रकृतिको हो । वेयर, अन्डरस्लुइस, इन्टेक, ग्राभेल, ट्रयाप, एप्रोच क्यानल, सेटलिंग बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज साफ्ट, प्रेशर टनेल, पेनस्टक पाइप, विद्युतगृह, टेलरेस तथा प्रसारण लाइन प्रस्तावित आयोजनाका मुख्य संरचनाहरु हुन् । आयोजनाको डिजाइन डिस्चार्ज ७.९५ घनमिटर प्रतिसेकेन्ड र नेट हेड ५३९.१४ मिटर रहनेछ । आयोजनाको वार्षिक उर्जा उत्पादन २१६.६६ गिगावाट रहेको छ ।यस्तै, सिन्धुपाल्चोकमा अपर ब्रह्यायणी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । १५.१५ मेगावाट क्षमताको आयोजनाको लागत ३ अर्ब रहने अनुमान गरिएको छ । आयोजनाको निर्माणका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट वन तथा वातावरण मन्त्रालयले राय सुझावका लागि सूचना सार्वजनिक गरेको छ । प्रस्तावित आयोजना सिन्धुपाल्चोक जिल्लाको जुगलहिमाल गाउँपालिकामा प्रस्ताव गरिएको हो ।

यो आयोजना रन अफ रिभर प्रकृतिको हो । आयोजनाको ग्रस हेड ४६३ मिटर रहेको छ । डिजाइन डिस्चार्ज ४.०२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । प्रस्तावित आयोजनाले वार्षिक ८९.०४९ गिगावाट ऊर्जा उत्पादन गर्ने रिपोर्टमा उल्लेख गरिएको छ । आयोजनाका संरचनाहरु मसालखोलाको दायाँ किनारामा रहनेछ ।आयोजना जुगल गाउँपालिकाको वडा नम्बर २ र ३ मा रहनेछ । आयोजनाका लागि कुल ६.६ हेक्टर सरकारी जग्गा आवश्यक पर्नेछ । जसमा ४.१६ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जको र २.४४ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जअन्तर्गत व्यवस्थापन गरिएको खोला बगर प्रयोग हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*