प्रदेश प्रहरी र केदारेश्वर चैनपुर जेसीजकप फुटवल फाइनलमा

साझाकुरा
२०८० आश्विन ३०, मंगलवार १०:३६

हेटौंडा- मनहरी ९ रजैयाको केदारेश्वर युवा क्लव र बागमती प्रदेश प्रहरीगण प्रथम चैनपुर जेसीज कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । सोमबार भएको सेमिफाइनल खेलमा रजैयाले सिमपानी एफसी मनहरीलाई र पुलिसले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो ।पहिलो खेलमा रजैयाले सिमपानीलाई १–० ले हराएको हो । खेलमा प्रयास तामाङले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तामाङले दोस्रो हाफमा गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच निर्णायक गोलकर्ता तामाङ नै भएका छन् । यस्तै दोस्रो खेलमा प्रहरीले सयपत्री क्लवलाई टाइब्रेकरमा हराएको हो ।

निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । टाइब्रेकरमा पुलिसको ४ वटा प्रहार गोल हुँदा सयपत्रीको २ जनाले मात्र गोल गरेका थिए । सयपत्रीको एउटा प्रहार बाहिरिएको थियो भने एउटा प्रहार बारमा लागेर फर्किएको थियो । खेलको म्यान अफ द म्याच प्रदेश प्रहरी गणका विशाल थिङ घोषित भए । कात्तिक १ गते दिउँसो १ बजेबाट फाइनल खेल हुने आयोजक जेसीआई चैनपुर प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।

१६ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० हजार ५५५ र उपविजेताले २५ हजार ५२५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कारको व्यवस्थारहेको छ । प्रतियोगिताको फाइनलकै दिन जेसीज सप्ताहको समापनसमेत हुनेछ । फुटबल खेलको विकाससँगै खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि चैनपुर जेसीजले प्रतियोगिता आयोजना गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*