गाउँपालिकाले विद्यालयमा जडान गरेको ई–हाजिरी बिग्रेर थन्किए

साझाकुरा
२०८० कार्तिक १, बुधबार ११:५१

हेटौंडा- मकवानपुरको मनहरी गाउँपालिकाको ३२ वटा सामुदायिक विद्यालयमा गाउँपालिकाले जडान गरेको ई–हाजिरी प्रभावहिन बनेको छ । विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्नका लागि गाउँपालिकाले ९ वटै वडाका सबै विद्यालयमा जडान गरेको ई–हाजिरीको उपकरण बिग्रेर थन्किएका छन् ।गाउँपालिकाले शिक्षकको ई–हाजिरी ट्रयाकिङ गर्नेगरी २०७५ देखि सबै विद्यालयमा लाखौं खर्च गरेर ई–हाजिरी सञ्चालनमा ल्याएको थियो । सामुदायिक विद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि विद्यालयमा जडान गरिएको ई–हाजिरीको अवस्थाका बारेमा हाल गाउँपालिका नै बेखबर छ ।

विद्यालयले पनि बिग्रेका ई–हाजिरीको उपकरण मर्मत गरेर पुःन सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा चासो देखाएका छैनन् । बिग्रेको ई–हाजिरी पुःन सञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई ‘हाइसञ्चो’ भएको अभिभावक बताउँछन् ।विद्यालयमा हुने शिक्षकको ढिलो उपस्थितिका कारण पठन–पाठनमा पर्ने असर कम गर्नका लागि गाउँपालिकाले ई–हाजिरीको उपकरण खरिद गरेर विद्यालयमा जडान गरेको थियो । ई–हाजिरी मार्फत् शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था मिलाइएको थियो । तर, त्यतिबेलाको गाउँपालिकाले अनलाइन प्रबिधिमा ई–हाजिरी मेसिन जडान नगरी पुरानै प्रबिधिको र ब्याट्री ब्याकप सुन्य भएको मेसिन जडान गरेको विद्यालयहरुले बताएका छन् ।

‘उच्चप्रबिधिको ई–हाजिरी मेसिन राखेर गाउँपालिका कार्यालयबाटै ट्रयाकिङले गर्न सकेको भए कुन विद्यालयका शिक्षक, कुनबेला उपस्थित भए, कुनबेला हाजिर गरे, कतिबेला विद्यालयबाट निस्किए’ भन्ने निगरानी गर्न सहज हुने रमौली प्रतापुरस्थित ब्रम्हकाली निमाविका प्रधानाध्यापक ध्रुब सुनार बताउँछन् । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर, ई–हाजिरी जडानपछि त्यसको बिवरण कपी गरेर गाउँपालिकामा लैजाने ब्यवस्था नभएको शिक्षकहरुले बताए ।

गाउँपालिकाबाटै निरन्तर निगरानी र चासो नपुग्दा ई–हाजिरी बेकम्मा बन्न पुगेको हो । कतिसम्म भने गाउँपालिकाले कुनै एउटा निजी कम्पनीको ई–हाजिरी उपकरण बिकाउने भूमिका मात्र निर्वाह गरेको भन्दै आलोचना हुने गरेको छ । कमसल खालको उपकरण जडान गरिएका कारण ई–हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको शिक्षकहरु बताउँछन् ।‘ई–हाजिरी मेसिन कमसल भएकोले बिग्रिएको अवस्थामा छन्,’ रोटरी माविका प्रधानाध्यापक गोबिन्द पौडेलले भने, ‘धेरै समयदेखि मेसिन बिग्रेको छ, चल्दैन ।’ तामझामका साथ जडान गरिएको ई–हाजिरी केही विद्यालयमा ६÷७ महिना नपुग्दै बिग्रेर थन्किएको सम्वन्धित विद्यालयका प्रअ बताउँछन् । ई–हाजिरी जडान गरेको वर्ष दिन पनि नटिकेको भोजसिद्ध माविका प्रअ महेश रिजाल बताउँछन् । कोभिड–१९ को महामारीसँगै ई–हाजिरी चलाउन बन्द गरिएको थियो । ई–हाजिरी गर्नेक्रममा कोभिड सर्ने त्रास भएपछि प्रयोग गर्न छाडिएको ई–हाजिरी हालसम्म पुःन प्रयोगमा ल्याइएको छैन ।

ई–हाजिरी गर्ने क्रममा रोगसर्ने डर भएपछि प्रयोग गर्न छाडिएको थियो तर, कोभिड–१९ महामारीको प्रभाव न्यून भएपछि पनि ई–हाजिरी पुःन प्रयोगमा ल्याइएको छैन । लामो बिदा पछि चार्ज नहुँदा विद्यालयको ई–हाजिरी प्रयोग विहिन बनेको प्रअहरुले बताएका छन् । बिग्रेको ई–हाजिरी मर्मत गर्ने वा नयाँ ई–हाजिरी जडान गर्ने भन्ने बिषयमा गाउँपालिकाले केही समय अघि छलफलमा ल्याएको भएपनि निर्णय हुन नसकेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*