मकवानपुरगढीमा वर्षाका कारण धान बालीमा क्षति

साझाकुरा
२०८० कार्तिक २, बिहीबार १२:०८

हेटौंडा-बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको छ । कृषकहरुले लगाएको धानबालीमा मंगलबार विहान र राती आएको हावासहितको पानीले क्षति पु¥याएको हो ।मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ सिमलटार, धादिङफाँट सहित गाउँपालिकाको विभिन्न स्थानमा धानबालीमा क्षती पुगेको स्थानीय किसानहरुले बताएका छन् । सिमलटारका कृषक एटबहादुर बस्नेतका अनुसार धानबाली भित्राउने समयमा हावासहितको पानीले खेतमै धान ढलेकाले चिन्तित बनाएको बताए ।

मंगलबार विहान राती करिब २ बजे हावा सहितको वर्षाले धान पाकेर भित्राउन जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तित बनाएको बताए । अझै वर्षा भएमा पाकेको धानबाली खेतमै कुहिने चिन्ता बढेको उनले बताए । अर्का किसान विष्णुकुमारी बजगाईले पाकेको धान काटेर खेतमा सुकाउँदा पानीले गर्दा धान र पराल दुवैमा असर परेको बताइन् । वर्षभर खाने उपजमा यसरी बैमौसमी वर्षाले गर्दा यस क्षेत्रका सयौं किसानहरु मर्कामा परेको बजगाई बताउँछिन् ।

गाउँपालिका कृषि शाखाप्रमुख चन्द्रकान्त चौधरीका अनुसार मंगलबार विहान आएको हावा सहितको पानीले पालिकाभित्रका विभिन्न स्थानमा धानबालीमा क्षति पुगेको छ । मकवानपुरगढी मात्र नभई मनहरी गाउँपालिकाका रजैया, ज्यामिरे, सिमपानी, हाँडीखोला क्षेत्रमा पनि धानबालीमा क्षति पुगेको मनहरी गाउँपालिकाले जनाएको छ । मकवानपुरको अधिकांश क्षेत्रमा पाक्न लागेको धानमा पानीले क्षति गरेपछि किसानहरु चिन्तित रहेका छन् ।

गतवर्ष पनि पाक्न लागेको धानबालीमा मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण ठूलो क्षति पुगेको थियो । यो वर्ष मकवानपुरमा मात्र नभइ देशका बिभिन्न जिल्लामा बालीनालीमा क्षति पुगेको छ । पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मंगलबारको वर्षा तथा हावाहुरीले पर्वतका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् ।

पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैयुँ र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पु¥याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका–८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिए । पाक्न थालेको धान हावाहुरी र पानीले पूरै सोत्तर बनाएको उनको गुनासो छ ।त्यसैगरी, कुश्मा वडा–१ पाङको फाँट, वडा–९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलेको छ ।

फसल भित्राउने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिए ।कृषि ज्ञानकेन्द्रका पर्वतका प्रमुख वरिष्ठ कृषिविकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पु¥याएको क्षतिबारे विवरण संकलन भइरहेको जानकारी दिए । उनले पर्वतको सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण संकलनको काम भइरहेको बताए ।

कैलालीमा केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ । हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्याएको किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा धानबाली र केराखेतीमा क्षति भएको छ । पाँच बिघा क्षेत्रफलमा केराखेती गरेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पु¥याउँदा उनलाई निकै पीडा भएको बताएका छन् ।

वर्षभरिको मेहनत खेर गएको, लगानी पनि डुबेको किसानहरुले बताएका छन् । अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शंकरपुर र जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन् । उनकोबारीमा पनि क्षति भएको छ । ‘अहिलेसम्म कति बोट ढले भन्ने यकिन छैन’, उनले भने किसानलाई कसैगरी पनि उभो लाग्ने वातावरण छैन, गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्यो ।’

यसमा तपाइको मत

Your email address will not be published.


*