जेसीज कप फुटबलको उपाधि प्रदेश प्रहरीले जित्यो

साझाकुरा
२०८० कार्तिक ३, शुक्रबार १०:१०

हेटौंडा- जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरीको लामिटारमा भएको फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गणले जितेको छ । बुधबार भएको फाइनल खेलमा केदारेश्वर युवा क्लव रजैयालाई १–० गोलले हराउँदै प्रहरीले उपाधि जितेको हो ।प्रहरीका लागि देवबहादुर सुनारले गरेको गोल नै खेलमा निर्णायक बन्यो । उनले दोस्रो हाफको अन्तिम १० मिनेट बाँकी रहँदा गोल गरेका हुन् ।

बिजेता प्रहरीले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने केदारेश्वरले २५ हजार ५२५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । रजैयाले सिमपानी र प्रहरीले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । खेलमा प्रहरीका सुकबहादुर सार्र्की उत्कृष्ट गोलरक्षक, केदारेश्वरका उत्तम मोक्तान उत्कृष्ट डिफेन्डर, प्रहरीकै विशाल थिङ उत्कृष्ट मिडफिल्डर, एफसी सिमपानीका राहुल थापामगर उत्कृष्ट फरवार्ड र प्रहरीका राजेन्द्र गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए ।

विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई कार्यक्रमका प्रमुखअतिथि मनहरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनाल, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, मातृशाखा पर्सा खैरहनी जेसीजका अध्यक्ष सुरज नेपाललगायतले पुरस्कार वितरण गरेका हुन् । असोज २३ गतेबाट संचालन भएको प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेकोथियो ।कार्यक्रमका प्रमुखअतिथि खनालले प्रस्तावित शाखाले मकवानपुरको पश्चिमी क्षेत्रमा विभिन्न सामाजिक कार्य गरिरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

दसैं, तिहार, छठ लगायतको पर्वको शुभकामनासँगै फुटबल खेलको विकास र खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जेसीजका अध्यक्ष अधिकारीले जानकारी दिए । कार्यक्रम संयोजक प्रमोद अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रश्मी बस्नेत, पर्सा खैरहनी जेसीजका अध्यक्षसुरज नेपाल, रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ता, मनहरी गाउँपालिका–४ का वडाअध्यक्ष प्रकाश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी सभापति गोविन्द सापकोटा, उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*