बागमती प्रदेशमा दुईसय मेट्रिकटन बीउ प्रमाणीकरण

साझाकुरा
२०८० कार्तिक ३, शुक्रबार १०:२९

हेटौंडा- बीउबिजन प्रयोगशाला हेटौंडाले दुईसय दशमलव ६८ मेक्ट्रिक्टन बीउ प्रमाणीकरण गरेको छ । गत आर्थिक वर्षमा बागमती प्रदेशका बिभिन्न जिल्लाबाट आएका खाद्यान्न, तेलहन र दलहनको बीउ प्रमाणीकरण गरिएको हो ।चितवन, धादिङ, काभ्रे, मकवानपुर, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, ललितपुर, भक्तपुरमा उत्पादन भएको धान, गहुँ, मकै, तोरी, मुसुरो, कोदो,भटमासलगायतको बालीको वीउबिजन प्रयोगशालाले बीउ सिफारिस र प्रमाणीकरण गर्दै आएको छ । बीउबिजन प्रयोगशाला हेटौंडाका सूचना अधिकारी सिर्मला योन्जनका अनुसार उमारशक्ति, चिस्यान र बीउको शुद्धताको आधारमा प्रमाणीकरण गरिन्छ ।

‘बालीअनुसार फरक–फरक मापदण्ड हुन्छ, बीउको खडावाली, रोग कीरा लागे नलागेको, सम्बन्धित स्थानमा गएर मूल बीउ र प्रमाणिक बीउको नमूना ल्याएर प्रयोगशालामा शुद्धता, उमारशक्ति हेरेपछि मापदण्ड पूरा भएका बीउलाई प्रमाणीकरण गर्ने गरेका छौं,’ सूचना अधिकारी योन्जनले बताइन् । चितवन, मकवानपुर, धादिङ र काभ्रेमा धान, मकै, गहुँ, तरकारी र जै घाँसको बीउविजनमा आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिएको छ ।

बीउ बजार प्रवद्र्धन तथा सहयोग कार्यक्रम, बीउ स्रोतकेन्द्र स्थापना, गुणस्तर नियन्त्रण तथा नियमन गर्ने लगायत कार्य हेटौंडा कार्यालयले गर्दै आएको छ । प्रदेशमा सबैभन्दा धेरै बीउविजन उत्पादन गर्ने जिल्ला चितवन हो भने सबैभन्दा न्यून बीउ उत्पादन गर्ने रसुवा हो । बागमती प्रदेशमा मुल÷श्रोतबीउ उत्पादनका लागि १६ वटा संस्थाले इजाजत लिई बीउ उत्पादन तथा व्यवस्थापन सम्बन्धी कार्य गर्दै आएका छन् ।

सरकारी, नीजि कम्पनी, सहकारी संस्था, कृषि समूह, गैरसरकारी संस्था र विश्वविद्यालयले स्रोत बीउ उत्पादनका लागि इजाजतपत्र लिई उत्पादन गरिरहेको बीउबिजन प्रयोगशाला हेटौंडाले जनाएको छ । प्रदेशको ललितपुरमा ३, काठमाडौंमा ४, चितवनमा ६ र सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोटमा एक÷एक वटा मूल÷श्रोत बीउ उत्पादक रहेका छन् । त्यस्तै उत्पादित स्रोतबीउको प्रशोधन प्रयोजनका प्रदेशमा २० वटा निजीस्तरका कम्पनी, अनुसन्धान केन्द्र, सरकारी कम्पनी, कृषि समूह, सहकारी, गैरसरकारी तथा विश्वविद्यालयले बीउ प्रशोधनगरी लट नम्बर राखेर बीउको बिक्री वितरण गर्ने गरेको बीउबिजन प्रयोगशाला हेटौंडाको तथ्यांक छ ।

चितवनमा १२, ललितपुरमा ३, मकवानपुरमा २ र काठमाडौं, नुवाकोट र दोलखामा बीउ प्रशोधन कम्पनी रहेका छन् । बीउबिजन ऐन तथा नियमावलीमा भएको व्यवस्था अनुसार निजीस्तरमा बीउ परीक्षण गर्ने कार्य सञ्चालनका लागि प्रदेशमा ३ वटा कम्पनीले राष्ट्रिय बीउविजन समितिबाट प्रयोगशालासम्बन्धी इजाजत लिई कारोवार गरिरहेका छन् । ललितपुरको वातावरण तथा कृषि नीति अनुसन्धान प्रसार एवं विकास केन्द्र (सिप्रेड), काठमाडौंको सियान सीड सर्भिस सेन्टर र चितवनको भरतपुरमा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले बीउविजन प्रयोगशाला सञ्चालन गरिरहेका छन् ।
बागमती प्रदेशमा व्यावसायिक रुपमा मुख्य खाद्यान्न, दलहन, तरकारीबालीको गुणस्तरीय बीउ उत्पादन तथा प्रमाणीकरण हुने गरेको छ । हेटौंडामा रहेको प्रयोगशाला संगको समन्वयमा नियमितरुपमा बीउ उत्पादन तथा प्रमाणीकरण गर्ने गरिएको छ । कृषि उत्पादन बृद्धिको लागि उन्नत जानतको गुणस्तरयुक्त बीउको प्रयोग पूर्वसर्त भएको बताउँदै बीउबिजन प्रयोगशाला हेटौंडाका सूचना अधिकारी योन्जनले गुणस्तरयुक्त बीउ एक आधारभूत, संवेदनशील सामग्री भएकाले उत्पादकत्व तथा आर्थिकवृद्धिमा प्रभाव पार्ने बताइन् ।

नेपालमा २० देखि २५ प्रतिशत उत्पादन वृद्धि गुणस्तरयुक्त बीउको कारणले हुनेगरेको तथ्यांक छ । नेपालमा कूल बीउको माग करिब ४५ हजार मेक्ट्रिकटनरहेको छ । करिव २२ प्रतिशत बीउ मात्रै औपचारिक क्षेत्रबाट आपूर्ति भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*