मकवानपुरगढीमा आन्तरिक पर्यटकको घुईंचो
हेटौंडा- विगतझैं दशैंमा मकवानपुरगढीमा आन्तरिक पर्यटकको घुईंचो लागेको छ । दशैंको बिदामा मकवानपुरगढी दरबार क्षेत्र घुम्नका लागि प्रमुख गन्तव्य बनेको हो ।फुलपाती, अष्टमी र नवमीका दिनबाट आन्तरिक पर्यटकको आवागमन बाक्लो भएको मकवानपुरगढी गाउँपालिका २ नम्बर वडा अध्यक्ष बखान सिं पाख्रिनले जानकारी दिए । दशैंमा आन्तरिक पर्यटकको घुईंचो लाग्ने भएपछि २ नम्बर वडा कार्यालयले सरसफाई गरेर दरबार क्षेत्र सुन्दर बनाएको थियो । नेपालमा पछिल्लो समय दशैं र तिहारको चाडपर्व विदामा आन्तरिक पर्यटकहरु स्वदेशकै पर्यटकीय क्षेत्र अवलोकनमा निस्कने क्रम बढेसँगै मकवानपुरगढी दरबार क्षेत्रमा पनि पर्यटकको घुईंचो लागेको हो ।
हेटौंडा बजारबाट करिब १८ किलोमिटरको दुरीमा रहेको मकवानपुरगढीमा तराईका जिल्लाबाट अधिकांश पर्यटकहरु आएका छन् । रौतहटको चन्द्रनिगाहापुर नगरपालिकाबाट आएका राजन सापकोटाको परिवारले धेरै वर्षदेखि आउन मन लागेको मकवानपुरगढीमा घुम्न दशैंले जुराएको जनाएका छन् । सापकोटाले दशैंमा ससुराली आउँदा मकवानपुरगढी दरबारमा घुम्न आएको सुनाए । ‘मकवानपुरगढी दरबार मात्रै होला भन्ठानेको थिएँ । यहाँ आएपछि थाहा पाइयो की, मकवानपुरगढीको ठूलो इतिहास रहेछ ।’, उनले भने । मकवानपुरगढीबाट नेपाली सेनाको गठन सुरु भएको र मकवानपुरको सीमाना फैलिएको कुरा थाहा पाएको सापकोटाले बताए ।
हेटौंडा–७ कमानेकी आशा श्रेष्ठले वर्षौदेखिको प्रयासको बाबजुद दशैंमा मकवानपुरगढी पुग्ने अबसर पाएको बताइन् । घरमा आएका पाहुनालाई लिएर उनी मकवानपुरगढी दरबार पुगेकी थिइन् । मकवानपुरगढीको जीर्णोद्धार कार्य भइरहेको छ । ऐतिहासिक मकवानपुुरगढी जीर्णोद्धारसँगै पुराना आकृति अंकित संरचनाहरुलाई व्यवस्थित र सुन्दर बनाइएको छ । ऐतिहासिक महत्वको मकवानपुरगढी दरबार सामान्य मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले केही समय अघि जीर्णोद्धार सुरु गरेको थियो ।
पुरातत्वले मकवानपुरगढी दरबार परिसरमा रहेको श्री कृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेष मर्मत गरेको थियो ।मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरु भत्किएर जीर्ण बनेका थिए । पुरातत्त्वले मकवानपुरगढीको भत्किएका भागहरुलाई मर्मत गरी पुरानै आकृतिमा संरचनाहरु निर्माण गरेको छ । मन्दिरको पश्चिमतर्फ रहेको दरबार भत्किएर ढुंगाको थुप्रो झैँ बनेको थियो । तर, पुरातत्व विभागले जीर्णोद्धार गरेसँगै सो दरबार पुरानै अवस्थामा देखिन थालेको छ । सो दरबारको काठका खाबो परिवर्तन गरिएको छ भने भत्किएका भित्ता मर्मत गरिएका छन् । आँखी झ्यालसहित भुइँ तलालाई चिटिक्क बनाइएको छ ।
पुरातत्व विभागले मन्दिरको पूर्वतर्फ रहेको मकवानपुरगढी दरबारको भग्नावशेष यथास्थितिमै जीर्णाेद्धारसहित मर्मत तथा संरक्षण गर्ने योजना अनुरुप भत्किएका भित्ताहरुलाई मर्मत गरेको छ । दरबार प्रवेश र द्वारअगाडि रहेको काठको पुल चौडा पारिएको छ । दरबारको छाना र ढोका लगायतका संरचना भने हाल्न बाँकी छ । जीर्णोद्धारसहित छाना परिवर्तनको योजना रहे पनि रकम अपुग हुँदा योजना अनुसार काम हुन सकेन । चालु आर्थिक वर्षमा सो दरबारको संरक्षणका लागि छाना परिवर्तनलगायत अन्य काम गर्ने योजना छ ।
पुरानै शैलीमा मर्मत तथा संरक्षणको लागि गत आर्थिक वर्षमा पुरातत्व विभागले १ करोड १८ लाख ४३ हजार रुपैयाँ खर्च गरेको थियो । नेपालमा ठुला–साना गरी करिब २०० गढी छन । ती सबैका आ–आफ्नै महत्व छन । त्यस हिसाबले पनि मकवानपुरगढीको महत्व फरक छ । मकवानपुरगढीमा अवस्थित दरबारमा प्रयोगगरिएका शिलाहरुले थप सौन्दर्यता प्रदान गरेको छ । ऐतिहासिक,पुरातात्विक र सामरिक दृष्टिले पनि महत्वपूर्ण रहेको मकवानपुरगढी मकवानुपर जिल्लाको सदरमुकाम हेटौंडाबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा पर्दछ । आधुनिक नेपालको स्थापना हुनुपूर्व सेन वंशीय शासनको ऐतिहासिक बिरासतको जीवन्त इतिहास मकवानपुरगढीले बोकेको छ ।
इसं १२५८ तिरै राजा मुकुन्द सेनले गढी बनाउन लगाएका थिए । पछि मुकुन्द सेन द्वितीयका छोरा लोहाङ सेन मकवानपुरकाराजा बने । मकवानपुरगढीलाई राजधानी बनाएर सेन वंशका सात पुस्ताले मकवानपुरमा शासन गरेका थिए । मकवानपुरका अन्तिम राजा दिग्बन्धन सेन हन । सेन राजाहरुले १९७ वर्षसम्म आफ्नो राजधानी बनाएको मकवानपुरगढी वि.सं १६२२ मा लुवाङ सेनले बनाएको मानिन्छ । उनलाई नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले पराजित गरेका थिए । नेपाल एकीकरणमा मकवानपुरगढीको महत्वपूर्ण भूमिका देखिन्छ ।
नुवाकोट विजयपछि पृथ्वीनारायण शाहले मकवानपुरमा हमला गरेका थिए । पृथ्वीनारायणको फौजले २१ अगस्ट १७६२ मा गढीमा आक्रमण गरेको थियो । काठमाडौंका मल्ल राजाहरुलाई कमजोर पार्ने
रणनीतिअनुसार उनको रोजाइमा मकवानपुर परेको थियो । १८१९ भदौ ९ मा पृथ्वीनारायण शाहको फौज विजयी भएपछि मकवानपुरका राजा दिगबन्धन सेन मन्त्री कनकसिंह बानियाँसहित भागेर बंगाल पुगेका थिए । सेन त्यहाँका नवाव मिरकासिमसँग सहयोग माग्न बंगाल पुगेका थिए । दिगबन्धन सेनले मिरकासिमको सहयोगमा मकवानपुरगढी नियन्त्रणमा लिने उद्देश्य अनुसार पुनः आक्रमण गरे ।
दिगबन्धु सेनले मिरकासिमको सहयोगमा दुई हजार लडाकु र एक हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खाको नियन्त्रणमा रहेको मकवानपुरगढीमा १८१९ माघ १० मा आक्रमण गरेका थिए ।
मकवानपुरगढीमा उक्लिने क्रममा शिखरकटेरीमा राति १० घण्टासम्म भएको लडाइँमा नवावको फौज पराजित भयो । त्यो लडाइँमा सानो संख्यामा रहेको गोर्खाली फौजको नेतृत्व रामकृष्ण कुँवरले गरेका थिए । गोर्खाली फौजलाई स्थानीयले घरेलु हतियारसहित सघाएका थिए । उक्त लडाइँमा मिरकासिमका तर्फबाट लड्न आएका एक हजार ७०० सैनिक मारिएका थिए भने अन्य भागेका थिए । नवावको पराजित फौजबाट थुप्रै गोलीगठ्ठा र ११ थान तोप गोर्खाली सेनाले नियन्त्रणमा लिएको थियो ।
गोर्खाली मकवानपुरगढी आक्रमणका क्रममा फौजले बंगाली फौजबाट लिएका गोली गठ्ठा र तोप २०३६ सालसम्म गढीमै थिए । २०३६ सालमा गढीबाट उठाएर हेटौंडास्थित सेनाको सुपारेटार व्यारेकमा ल्याइएका थिए । मकवानपुरगढी भित्र वंश गोपाल मन्दिर छ । मन्दिरभित्र कृष्णलाई फलामे साङ्लोले बाँधेर राखिएको छ । मन्दिरको केही तल एउटा गुफा छ । त्यही गुफाबाट कृष्ण ओहोरदोहोर गर्थे भन्ने मान्यता छ । त्यस समयमा चितवनमा तोरी खेती हुन्थ्यो । उनी त्यहाँसम्म पुगेर आउँथे । कृष्ण राति बाहिर जाने र बिहानमात्रै फर्कने गर्दा अनिष्ट आइपर्ला भनेर उनलाई गाउँलेले बाँधेर राखेको किम्बदन्ती छ ।