मेची–महाकाली साइकल यात्रामा हेटौंडाका ११ जना

साझाकुरा
२०८० कार्तिक १२, आईतवार १२:१७

हेटौंडा- हेटौंडाका साइकलप्रेमी ११ जना मेची–महाकाली साइकल यात्रामा निस्किएका छन् । गत शुक्रबार झापाको सीमावर्ती बजार मेचीनगर प्रस्थान गरेको हेटौंडाको साइकल यात्रीको समूहले मेची–महाकाली यात्रा चय गरिसकेको छ ।यात्रा टोलीमा ११ जना हेटौंडाका र २ जना बुटवलका साइकलयात्रीहरु रहेका छन । हेटौंडाबाट शुक्रबार बिहान झापाको काकडभिट्टा हिँडेको साइकलयात्रा टोली यात्रामा निस्किसकेको भानुभक्त आचार्यले जानकारी दिए । पर्यटन प्रवद्र्धनको उद्देश्य लिएर साइकल यात्रीले शनिबार बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका हुन् । मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले खादा र अबिर लगाएर साइकल यात्रीहरुलाई बिदाइ गरेका छन ।

मकवानपुरको हिमालयन राइडर्स सोसाइटीको आयोजनामा भएको साइकलयात्रामा निवृत्त निजामती कर्मचारी, शिक्षक, पत्रकार र व्यवसायीको सहभागिता रहेको छ । सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले नेपालमा साइकल संस्कृतिको प्रोत्साहनको खाँचो रहेको धारणा राख्दै पर्यटन, स्वास्थ्य र पर्यावरणका लागि संस्थागत रुपमा मेची–महाकाली साइकलयात्राको आयोजना गरिएको बताए । यात्राका क्रममा मुलुकका प्रमुख पर्यटकीय स्थलको अवलोकन र प्रचारप्रसार गरिने सोसाइटीका उपाध्यक्ष राजु थापा मगरले बताए ।

काँकडभिट्टाबाट झापाको पश्चिमी सिमाना दमकसम्म स्थानीय दुई जना साइकलयात्रीले साथ दिने उनको भनाइ छ । पूर्वी नाका काँकडभिट्टाबाट शनिबार बिहान ८ बजे सुरु भएको सो यात्रा शनिबार सुनसरीको इटहरी पुग्ने र दश दिनमा महाकाली पुगेर समापन हुने नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्यले जानकारी दिए । साइकलयात्रामा सहभागी सदस्यमध्ये लक्ष्मीचरण श्रेष्ठ र भानुभक्त आचार्य दोस्रो पटक मेची–महाकाली साइकल यात्रा गर्दैछन । स्वास्थ्य, पर्यावरण, पर्यटन र साइकल संस्कृति विकासको निम्ति साइकल भन्ने सकारात्मक सन्देस प्रवाह गर्दै हिमालयन राईडर्स सोसाइटी हेटौंडाको समन्वयमा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यको नेतृत्वमा यात्रा हुन लागेको सोसाइटीका उपाध्यक्ष राजु थापामगरले जानकारी दिए ।

आचार्य साइकलयात्रामा सहभागीमध्ये जेष्ठ सदस्य हुन । आगामी दिनमा निर्माण गरिने सार्वजनिक यातायातका पूर्वाधारमा साइकल लेन, साइकल पार्किङ, अपाङमैत्री लेन समाबेश गर्न पनि सोसाइटीले आग्रह गरेको छ । २०५४ माघ महिनामा सामान्य साइकलमा हेटौंडाका ११ जनाले मेचीमहाकाली यात्रा गरेका थिए । भिजिट नेपाल ९८ को अवसरमा हेटौंडाको सहीद स्मारकलगायतका पर्यटकीयस्थलको जानकारी दिनका लागि व्यक्तिगत खर्चमा उनीहरुले साइकलयात्रा गरेका थिए । ११ जनामध्ये २ जनाले पूर्वबाट हेटौंडासम्म साइकलयात्रा गरी बीचैमा यात्रा स्थगित गरेका थिए भने ९ जनाले १६ दिन लगाएर मेची–काली साइकलयात्रा पूरा गरेका थिए ।

२५ वर्षअघिको पूर्व पश्चिम राजमार्गको अवस्था र बर्तमान अवस्थामा निकै फरक आएको र अहिले गियर सहितको साइकल उपलब्ध भएका कारण १२ दिनभित्र यात्रा सम्पन्न गर्न सकिने उनीहरुले बताएका छन । व्यक्तिगत खर्चमा दोस्रोपटक मेची–काली साइकलयात्रामा जान लागेका आचार्य नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष हुन । टोलीमा लक्ष्मीचरण श्रेष्ठ, भानुभक्त आचार्य, चेतनाथ आचार्य, बुद्धिबहादुर आलेमगर, राजु थापामगर, लेखनाथ ढकाल, सरोज लामिछाने, ओकिलराज बानियाँ, दुर्गाप्रसाद लामिछाने, सुशील चौधरी (बुटवल), सुरज खत्री (बुटवल), विकास बानियाँ, सीता श्रेष्ठ रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*