चित्लाङमा पाराग्लाइडिङ सञ्चालनमा

साझाकुरा
२०८० कार्तिक १२, आईतवार १२:२८

हेटौंडा- काठमाडौं उपत्यकानजिकको चर्चित ‘हिल स्टेसन’ चन्द्रागिरिमा पाराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको छ । नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी बाबु एड्भेन्चर्सले पाराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट पाराग्लाइडिङ उडान सुरु हुने सुनुवारले जानकारी दिए । समुद्र सतहबाट १७ सय मिटरको उचाइमा रहेको मकवानपुरको चित्लाङमापाराग्लाइडिङको अवतरण गरिन्छ ।

पाराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानवनिर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

कम्पनीले चन्द्रागिरिमा पाराग्लाइडिङमा उड्नका निम्ति प्रतिव्यक्ति आठ हजार रुपैयाँ शुल्क तोकेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको पाराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट पाराग्लाइडिङस्थलसम्मको जाने–आउने सुविधा उपलब्ध हुनेछ । सोही प्याकेजका निम्ति प्रत्येक विदेशी नागरिकले १२ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने सुनुवारले बताए ।
कम्पनीको सवारीमा जाने–आउने सुविधा नलिने नेपालीले सात हजार २०० रुपैयाँ तिरेर पाराग्लाइडिङ उडानको मजा लिन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*