विद्यार्थीलाई बजार अनुगमन गर्न सिकाउँदै मत्स्यनारायण
हेटौंडा- थाहा नगरपालिका वडा नम्बर–२, स्थित मत्स्यनारायण माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई सिकाई क्रियाकलापमा बजार अनुगमन गराएको छ ।विद्यालयले कक्षा–१० माअध्ययनरत् विद्यार्थीलाई प्रयोगात्मक सिकाई क्रियाकलापअन्तर्गत् विद्यालय नजिकैको बजारको अनुगमन गराएको प्रधानाध्यापक विष्णुहरि ढकालले जानकारी दिए । कक्षा–१० को सामाजिक विषयको एकाई ५ को पाठ ८ को उपभोक्ता अधिकारअन्तर्गत्को सिकाई क्रियाकलापमा बजारमा किनेको सामान तोकिए बमोजिमको गुणस्तर भए÷नभएको पहिचान गर्न प्रत्यक्ष विद्यार्थीको सहभागितामा बजारमा न गईखाद्यवस्तुको नाम, उत्पादन मिति, उत्पादित वस्तुको म्याद, वस्तुको मिश्रणको अवस्था, मूल्य, तौललगायतको अवलोकन गराई प्रयोगात्मक अभ्यास गराइएको शिक्षक श्याम तामाङले बताए ।
बजार प्रणालीलाई प्रतिस्पर्धी र उपभोक्ताप्रति जिम्मेवार बनाउन प्रचलित कानुनको कार्यान्वयमा जोड दिँदै उपभोक्ता शिक्षासम्बन्धी सचेतना र बजार अनुगमन र उपभोक्ता हित संरक्षणलाई विशेष प्राथमिकतामा लिइ विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलापमा सहभागी गराइएको प्रधानाध्यापक ढकालले सुनाए । विद्यार्थीहरुलाई बजार अनुगमन कार्य सिकाउँदा बजारको गुणस्तरमा प्रगति हुने विश्वास लिइएको छ ।