नेपाल १० वर्षपछि टी–२० क्रिकेट विश्वकपमा

साझाकुरा
२०८० कार्तिक १८, शनिबार ०८:२१

हेटौंडा-वर्षौदेखि रंगशाला निर्माण अलपत्र रहेको मुलपानी मैदानमा संघर्ष गरेपछि नेपाललाई १० वर्षपछि टी–२० क्रिकेट विश्वकपमा फर्काएको छ ।सन् २०१४ मा टी–२० विश्वकप खेलेको नेपाल त्यसयता क्षेत्रीय प्रतियोगिताहरुमै सीमित थियो । शुक्रबार मुलपानीमा क्रिकेट मैदानमा यूएईसँग भएको विश्वकपका लागि एसिया छनौटअन्तर्गत् सेमिफाइनलमा भएको महत्वपूर्ण खेलमा नेपाल बिजयी भएको हो । घरेलु मैदानमा पाएको अवसरको सदुपयोग गर्दै नेपाल १० वर्षपछि नेपाल टी–२० विश्वकप क्रिकेटमा छनोट भएको हो ।

नेपालले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपमा क्रिकेटका महारथीहरुसँग प्रतिस्पर्धा गर्नेछ । नेपालका लागि दोस्रोपटक विश्वकप खेल्ने खेलाडी एकमात्र सोमपाल कामी बन्ने भएका छन् । नेपालले बंगलादेशमा २०१४ मा विश्वकप खेल्दा सोमपाल कामी नेपालका प्रमुख बलर थिए । उनी अहिले पनि नेपालका प्रमुख बलर हुन । सोमपालले यूएईसँगको खेलमा एक ओभरमै दुई विकेट लिएका थिए ।नेपालले यूएईलाई ८ विकेटले हराएको हो । यसअघि नेपालले पहिलोपटक २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । जहाँ हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि फेरि विश्वकपमा पुग्न नेपालले १० वर्ष कुर्नुपरेको हो । मूलपानीमा टस हारेर नेपालले पहिला बलिङ गरेको थियो । यूएईले ९ विकेटको क्षतिमा १३४ रन बनाएर नेपाललाई लक्ष्य पस्किएको थियो । नेपालले २ विकेट गुमाएर १७ दशमलव १ ओभरमै लक्ष्य भेट्टाएको थियो ।

नेपालको जीतमा आसिफ शेखले अर्धशतक प्रहार गरे । आसिफले नटआउट ६३ रन बनाए । उनले ५० बलमा ६ चौका र २ छक्का हानेका थिए । कप्तान रोहित पौडेलले २० बलमा नटआउट ३५ रन जोडे । दुईबीच नटआउट ६८ रनको साझेदारी हुँदा नेपालले सहज जीत निकाल्न सकेको हो । ओपनर कुशल भुर्तेल ११ रन बनाएर आउट भए । उनी तेस्रो ओभरको अन्तिम बलमा निलान्स केस्वानीको बलमा मोहमद वासीमबाट क्याच भएका हुन् । कुशलले आउट हुनुअघि २ चौका हाने ।

गुल्सन झा दशौं ओभरमा बासिल हमीदबाट २२ रनमा बोल्ड भए । उनले आउट हुनुअघि २४ बलमा ३ चौका प्रहार गरे । त्यसअघि शुक्रबार विहान टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ९ विकेटको क्षतिमा १३४ रन जोडेको थियो । यूएईका लागि नृत्य अरिवन्दले अर्धशतक प्रहार गरे । अन्तिम ओभरको पहिलो बलमा कुशल मल्लबाट क्याचआउट हुनुअघि उनले ५१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६४ रन बनाए । आक्रामक सुरुवात गरेको युएईविरुद्ध नेपालले चौथो औभरमा दुई विकेट लिएको थियो ।

चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका ओपनिङ ब्याटर खालिद शाहलाई ३ रनमा रनआउट गरेका छन् । सोमपालले सोही ओभरको चौथो बलमा मोहमद वासीमलाई २६ रनमा करण केसीबाट आउट गरे । वासीमले १६ बलमा ३ चौका र २ छक्का हिर्काए । नेपालका लागि तेस्रो विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले दशौं ओभरको आसिफ खानलाई १३ रनमा एलबिडब्लूको धरापमा परे । नेपालका लागि कुशल मल्लले १४ औं ओभरमा चौथो विकेट लिएका छन् । उनले अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट आउट गरे । नेपालका लागि कप्तान रोहित पौडेलले पाँचौ विकेट लिए ।

पौडेलले यूएईका अली नासीरलाई ४ रनमा कुशल भुर्तेलबाट क्याच गराए । त्यतिबेला यूएईले १५ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा १०० रन जोडेको थियो । सन्दीपले १८ औं ओभरमा मेडन विकेट लिएका थिए । उनले सो ओभरमा बासील हमीदलाई १ रनमा आउट गरेपछि पाँच बलमा कुनै रन दिएनन् । बलिङमा नेपालका कुशल मल्लले ३ विकेट लिए । उनले अन्तिम ओभरमा २ विकेट लिएका थिए । कुशलले ३ ओभरमा ११ रन खर्चिएका थिए । सन्दीप लामिछानेले २ विकेट लिए । सन्दीपले ४ ओभरमा १ मेडन राख्दा १४ रन मात्र खर्चिए । सन्दीपले १४ डट बल फ्याँकेका थिए ।

विश्वकपमा २० टिम

अमेरिका र वेस्ट इन्डिजले आयोजना गर्न लागेको आइसिसी टी–२० विश्वकप २०२४ मा २० टिमले सहभागिता जाउँदैछन ।सन २०२४ को टी–२० विश्वकपमा १२ टिम सिधै छनोट भएका छन् भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गर्दैछन् । गत वर्षको अक्टोबर–नोभेम्बरमा अस्ट्रेलियामा भएको टी–२० विश्वकपको शीर्ष ८ टिम २०२४ को विश्वकपका लागि सिधा छनोट भइसकेका छन् । जसमा अस्ट्रेलिया, इंग्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले शीर्ष आठमा परेर २०२४ को विश्वकपका लागि स्थान पक्का गरिसककेका छन् अमेरिका र वेस्ट इन्डिज आयोजकको हैसियतमा छनोट भइसकेको छ । अमेरिकाले पहिलो टी–२० विश्वकप खेल्दैछ । १४ नोभेम्बर २०२२ सम्मको विश्व वरीयतालाई अर्को छनोटको आधार मानिएको थियो । जसबाट अफगानिस्तान र बंगलादेशले टी–२० विश्वकपमा स्थान बनाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*