चित्लाङस्थित विश्वविद्यालयले खोल्यो स्नातकोत्तर र विद्यावारिधिको भर्ना

साझाकुरा
२०८० कार्तिक १८, शनिबार १५:१०

हेटौंडा-मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले भर्ना खुलाएको छ ।विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधी तहमा भर्ना खोलेको हो । पहिलो शैक्षिक सत्रमा दुवै तहमा गरी जम्मा ३२ मेधावी विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी गरेको उक्त स्वायत्त विश्वविद्यालयले ती तहमा निःशुल्क शिक्षा र छात्रवृत्तिको प्रबन्ध पनि गरेको छ । विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधीमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अर्गानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिज्म इन्फ्रास्ट्रक्चर विषयमा ती तहमा भर्नाका लागि शुक्रबार सूचना प्रकाशन गर्ने विश्वविद्यालयका अध्यक्ष प्रा.डा. राजेन्द्रध्वज जोशीले जानकारी दिए ।

थाहा नगरपालिका–९ चित्लाङस्थित सातसय ४० रोपनी जग्गा पहिचान गरी २०७६ वैशाख १० गते विश्वविद्यालय निर्माणका लागि पूर्वाधार विकास समिति गठन भएको थियो । विश्वविद्यालयले हाल सुविधासम्पन्न प्रयोगशालासहित चारवटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । हाल एकसय ८० रोपनी जग्गामा विश्वविद्यालयको भोगाधिकार प्राप्त भइसकेको छ । विश्वविद्यालयको हालसम्मको प्रगति र शैक्षिक कार्यक्रमको थालनीबारे जानकारी दिँदै अध्यक्ष डा. जोशीले समृद्ध र न्यायिक नेपालमा योगदान दिन प्याटेन्ट राइट्स सिर्जना र उत्पादन बढाउन सहयोग पुग्ने गरी विश्वस्तरका प्राध्यापक र विद्यार्थीलाई पनि आकर्षित गरिरहेको बताए ।

विश्वविद्यालयको संगठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक रहेको छ । हाल यसको बोर्ड अफ ट्रष्टी (संरक्षक समिति)का अध्यक्ष उद्योगपति पदम ज्योति छन् भने ट्रष्टीमा स्वदेश र विदेशका ख्यातिप्राप्त प्राध्यापक र सूचना प्रविधि विज्ञका साथै अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव पदेन सदस्य छन् । विश्वविद्यालयको मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्न भविष्यमा तीन हजारसम्म विद्यार्थी भर्ना लिने लक्ष्य छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*