माओवादीकै नेतृत्वमा व्यवस्था परिवर्तन भयोः मोक्तान

हेटौंडा- माओवादी आन्दोलनसँगै लामो संघर्षबाट राज्य व्यवस्थामा परिवर्तन आएको नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज कुमारी मोक्तानले बताएकी छन् ।आइतबार नेकपा (माओबादी केन्द्र) जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत् भएको थाहा नगरपालिका वडा नम्बर–५ को सम्मेलनलाई सम्बोधन गर्दै मोक्तानले परिवर्तनपश्चात् प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि माओवादीको महत्वपूर्ण भूमिका हुने बताइन् । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रीसमेत रहेकी मोक्तानले जनभावना अनुसारको बिकासका लागि गुरुयोजनासहितको योजना बनाउन आग्रह गरिन् ।
मन्त्री मोक्तानले थाहा नगरपालिकाको विकासका लागि आफू प्रतिबद्ध रहेको विश्वास दिलाइन् । यसैबीच सम्मेलनले थाहा नगरपालिका वडा नम्बर ५ मा निमेष महर्जनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा अजय गुरुङ, बिरमान थिङ र रहरबहादुर घलान, सचिवमा श्रीकृष्ण लामा, सहसचिवमा विक्रम थिङ र कोषाध्यक्षमा रघुनाथ वाइबा चयन भए । माओवादी केन्द्र वडा नम्बर–५ का अध्यक्ष जगन्नाथ वाइवाको सभाध्यक्षतामा भएको सम्मेलनमा माओवादी केन्द्रका उपत्यका विशेष कमिटी उपाध्यक्ष तथा ३ महिने अभियानअन्तर्गत् थाहा नगर कमान्डर प्रकाशचन्द्र पाण्डेको विशेष आतिथ्यता रहेको थियो ।
यसैगरी, सम्मेलनमा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर श्रेष्ठ, पार्टी थाहा नगर अध्यक्ष बिनोदकुमार लामा, अभियानका वडा नम्बर–५ का कमान्डर अरुण रायमाझी, वाइसीएल थाहा नगर अध्यक्ष मानसिंह दोङलगायतका माओवादी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।