मकवानपुरगढीस्तरीय भलिबलमा क्वाटरफाइनल समिकरण पूरा

साझाकुरा
२०८० कार्तिक २०, सोमबार ०९:०२

हेटौंडा-मकवानपुरगढी गाउँपालिका वडा नम्बर–६, स्थित डुम्रेकुनामा भएको चौथो गाउँपालिकास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगितामा क्वाटरफाइनल समिकरण पूरा भएको छ ।सनराइज युथ क्लबद्वारा आयोजित प्रतियोगिताअन्तर्गत् आइतबार उद्घाटनकै दिन ८ वटा टिम क्वाटरफाइनलमा पुगेका छन् । प्रतियोगितामा समूह ‘क’बाट ८ नम्बर वडा बुढीचौर, ७ नम्बर वडाको सुकौरा, समूह ‘ख’अन्तर्गत् ५ नम्बर वडाको नवजागृति क्लब, ३ नम्बर वडाको मक्राञ्चुली, समूह ‘ग’ बाट जुनतारा युवा क्लब, आमभञ्ज्याङ युवा क्लब तथा समूह ‘घ’अन्तर्गत् नागरिक सचेत युवा क्लब र सनराइज युवा क्लब ‘ए’ क्वाटरफाइनलमा पुगेको क्लबका सचिव विष्णु सिलवालले जानकारी दिए ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यता तथा आयोजक सनराइज युथ क्लबका अध्यक्ष अशोक स्याङ्तानको सभाध्यक्षतामा प्रतियोगिताको उद्घाटन समारोह आयोजना गरिएको थियो । उद्घाटनमा गाउँपालिकाको निवर्तमान अध्यक्ष बिदूर हुमागाई, गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन, २ नम्बर वडा अध्यक्ष बखानसिं पाख्रिन, ६ नम्बर वडा अध्यक्ष कृष्णप्रसाद बजगाई, ६ नम्बर वडाका निर्वमान वडाध्यक्ष टीकाप्रसाद दाहाल, ६ नम्बर वडा सदस्य जीतबहादुर घलान, गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामबहादुर घलान गाउँ खेलकुद विकास समिति अध्यक्ष हीरालाल स्याङ्तान, बासुदेव टोल विकास संस्थाका अध्यक्ष चन्द्र बञ्जारा लगायतको आतिथ्यता थियो ।

प्रतियोगिताअन्तर्गत् आज सोमबार क्वाटरफाइनल चरणका ४ वटा खेल हुनेछन् । सेमिफाइनल प्रवेशका लागि ३ नम्बर वडाविरुद्ध सनराइज क्लब ‘ए’, ८ नम्बर वडाविरुद्ध आमभञ्ज्याङ युवा क्लब, जुनतारा क्लबविरुद्ध ७ नम्बर वडा र नागरिक सचेतविरुद्ध नवजागृत क्लब भिड्ने आयोजकले जानकारी दिएको छ । तालिकाअनुसार खेल सञ्चालन भएमा प्रतियोगिताको सेमिफाइनल खेल आज सोमबार नै गर्ने तयारी आयोजकको छ ।प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः ३० र २० हजार, तृतीय हुने टिमलाई १० हजार पुरस्कार रहेको छ । उत्कृष्ट खेलाडीलाई प्रोत्साहन पुरस्कार रहेको सचिव सिलवावलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*