क्रिकेट रंगशाला निर्माणमा बागमती सरकारको ७० प्रतिशत लगानी
हेटौंडा- धुर्मुस–सुन्तली फाण्डेशनले चितवनमा निर्माण सुरु गरेर बीचमै अलपल पारेको गौतमबुद्ध क्रिकेट रंगशालाको जिम्मेवारी प्रदेश सरकार र भरतपुर महानगरपालिकाले लिएका छन ।चितवनमा विगत डेढ वर्षदेखि निर्माण रोकिएको गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण बागमती सरकार भरतपुरले गर्ने भएको हो । मंगलबार हेटौंडामा बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिका बीच भएको संयुक्त बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित भरतपुर महानगरकी मेयर रेणु दाहालको उपस्थितिमा रंगशाला निर्माणमा बागमती सरकारले ७० प्रतिशत लगानी गर्ने सहमति बनेको छ ।
भरतपुर महानगरपालिकाको ३० प्रतिशत आर्थिक सहयोग हुने जनाइएको छ । प्याराफिट र क्रिकेट पिच निर्माणका लागि ७० करोड लाग्ने अनुमान छ । बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने र केही दिनभित्र ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाउने सहमति भएको जनाइएको छ । महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्ताव अनुसार काम सुरु गरिने छ ।
महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्याराफिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको जनाएको छ । बैठकमा प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिं लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, भरतपुर महानगरपालिकाको उपप्रमुख चित्रसेन अधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानालगायतको उपस्थिति थियो । भरतपुर महानगरका इञ्जिनियर सन्तोष आचार्यका अनुसार अहिले भइरहेको तल्लो तहको प्याराफिटको एक तहमाथि प्याराफिट निर्माण गरिने छ ।
खेलाडी बस्ने ठाउँ, पार्किङ व्यवस्थापन, भित्री सडकको व्यवस्थापनलगायतका काम यसै चरणमा हुने उनले बताए । आचार्यले दुई वर्षभित्रमा काम सम्पन्न हुने गरी ठेक्का सम्झौतामार्फत काम अघि बढाइने बताए । भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम रोकिएको दुई वर्षभन्दा बढी भइसकेको छ । २० बिघा ६ कठ्ठा जग्गामा निर्माण थालिएको क्रिकेट रंगशालाको काम रकम अभावमा २०७८ साउन २० गते रोकिएको थियो ।