पिप्लेक्याम्पा रंगशालामा मंसिरबाट हेटौंडा च्यालेन्ज कप फुटबल
हेटौंडा- हेटौंडामा पहिलो यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता आगाी मंसिर पहिलो हप्ताबाट हुने भएको छ ।पिप्लेको एफसी मुण्डियाल हेटौंडाको आयोजनामा स्व सुदर्शन घिमिरे स्मृतिमा च्यालेन्ज कप फुटबल प्रतियोगिता हुन लागेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नाराका साथ उमेर समूहको प्रतियोगितामा सर्वाधिक राशीसहितको फुटबल हुन लागेको आयोजक मुण्डियालका अध्यक्ष सुविन घिमिरेले जानकारी दिए । मकवानपुरका युवा खेलाडी लक्षित प्रोत्साहन गर्न प्रतियोगिताको आयोजना गरिन लागिएको कार्यक्रम संयोजक सुदीप सिं ठकुरीले बताए । फुटबल मंसिर ५ गतेबट १३ गते सम्म हुनेछ । प्रतियोगितामा जिल्ला बाहिरका ३ टिम र जिल्ला ११ वटा टिमसहित १४ वटाले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन ।
विजेताले एक लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन भने उपविजेताले ५५ हजारसहित शिल्ड र मेडल प्राप्त गर्ने जनाइएको छ । विधागत पुरस्कारतर्फ पाँच जना उत्कृष्ट खेलाडीले जनही पाँच हजार प्राप्त गर्नेछन भने प्रत्येक खेलको म्यान अफ दी म्याचमा प्रत्येकले २ हजार ५ सय प्राप्त गर्ने एफसी मुण्डियालका अध्यक्ष सुविन घिमिरेले बताए ।
प्रतियोगितामा हिली फिल्डर्स गोरखा एफसी, नव जागृति युवा क्लब सिमरा, वीरगञ्ज स्पोटर्स पर्सा, न्यू डाँफे युथ क्लब हेटौंडा, एफसी रिगल हेटौंडा रिसोर्ट, पदमपोखरी फुटबल एकेडेमी, निल गगन युवा क्लब हेटौंडा, सहिद स्मृति क्लब बागमती गाउँपालिका, हेटौंडा फुटबल एकेडेमी, थाहा नगरपालिका, रियल स्टार क्लब हेटौंडा, कमाने फुटबल एकेडेमी हेटौंडा, नागस्वती यूथ क्लब हेटौंडा र आयोजक एफसी मुण्डियाल हेटौंडाले सहभागिता जनाउने कार्यक्रम संयोजक ठकुरीले बताए ।
संयोजक ठकुरीको सभाध्यक्षतामा भएको पत्रकार सम्मेलनमा हेटौंडा उपमहानगर ५ का कार्यबहाक वडाध्यक्ष ज्ञान बहादुर थापा, एन्फाका केन्द्रीय सदस्य टिकाराम लामा, प्रदेश खेलकुद परिषद्का सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वेष खड्की, पिप्ले युवा क्लबका सल्लाहकार यमबहादुर श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।