राक्सिराङ आयुर्वेद औषधालय भवनको शिलान्यास

साझाकुरा
२०८० कार्तिक २५, शनिबार १४:५६

हेटौंडा- राक्सिराङ गाउँपालिकामा आयुर्बेद औषधालय भवन बन्ने भएको छ । वन जंगलमा पाइने जडीबुटीको प्राचीन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्मजयन्तिको अबसरमा गाउँपालिकाको ५ नम्बर वडा ठाडेचुरीमा शुक्रबार आयुर्बेद औषधालय भवनको शिलान्यास गरिएको हो । औषधालय भवनको शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पालिकाभित्रका विभिन्न जडिबुटीको संरक्षण गर्न हामी सबैको महत्वपूर्ण भूमिका रहेको बताए । हाम्रै गाउँठाउँ र जंगलमा पाइने जडिबुटीबाट बन्ने औषधिले कुनै शारीरिक असर नपर्ने भएकोले पछिल्लो समयमा आममानिसमा आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको समेत बताए ।

गाउँपालिकाको चालु आर्थिक बर्ष २०८०÷८१ मा विनियोजित २० लाख बजेटमार्फत ५ कोठे भवनको लागि स्थानीय ८६ बर्र्षीय बयोबृद्ध रामबहादुर प्रजाले २ कठ्ठा १० घुर जग्गा दान गरेपछि भवन निर्माणको लागि बाटो खुलेको आयुर्बेद शाखाप्रमुख रामबचन शाहले जानकारी दिए । जग्गा दान दिने प्रजालाई गाउँपालिका अध्यक्ष मल्लले ढाकाटोपी, दोसल्ला ओढाई सम्मान गरेका थिए ।

शिलान्यास कार्यक्रममा ४० जना सेवाग्राहीको स्वास्थ्यपरीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको आयुर्बेद शाखाप्रमुख शाहले जानकारी दिए । शिलान्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष मल्ल सहित उपाध्यक्ष बनस्तम थिङ, प्रमुख प्रशासकीय अधिकृत देबचन्द्र गर्तौला, वडा नम्बर ३ का अध्यक्ष उत्तम वाइबा, ५ नम्बर वडाअध्यक्ष हरिबहादुर प्रजा, ७ का अध्यक्ष रामबहादुर प्रजा, ८ का अध्यक्ष युसाई प्रजा र ९ का अध्यक्ष राजकुमार बल्पा थिङ, कार्यपालिका सदस्य, कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*