हेटौंडामा सुनिए गोबिन्द गिरी
हेटौंडा- साहित्य संगम मकवानपुरले साहित्यकार गोविन्द गिरी प्रेरणाका एकल कविता वाचन सम्पन्न गरेको छ । मकवानपुरको टेकर, सिस्नेरीमा जन्मिई हेटौंडामा स्कुले जीवन बिताएका गिरी काठमाडौं हुँदै हाल अमेरिका निवासी हुन् ।साँढे चार दशकदेखि प्रकाशनका काम गर्दै आइरहेका बहुविधाका स्रष्टा गिरीका आधा दर्जन बढी कथा संग्र्रह, उत्तिकै संख्यामा उपन्यास र कविता संग्रह प्रकाशन भैसकेको छ । संगमका उपाध्यक्ष सानु खनालले गिरीको व्यक्तिगत परिचयका साथै समालोचना, अन्तर्वार्ता, अनुवाद, नियात्रा तथा हास्यव्यङ्ग्य संग्रहहरु समेत प्रकाशन गरेका साहित्यकार गिरीले मैनाली कथा पुरस्कार, वासुशशी स्मृति पुरस्कार, नारायणी वाङमय पुरस्कार आदि प्राप्त गरिसकेको बताए ।
संगमका अध्यक्ष डीबी बर्तौलाले साहित्यकार गिरीलाई मकवानपुरमा एकल वाचनका क्रममा सुन्न पाउँदा गर्व लागेको बताए । साहित्यकार गिरीले हेटौंडा छँदै सिर्जनाका बीउ टुसाएको र काठमाडौंमा धेरै रचनाहरु सिर्जनाको अवसर मिलेको बताए । कार्यक्रममा उनले विभिन्न देशमा रहँदा लेखिएका आमा, छुटेको रेल, फिर्ति टिकटविना लगायतका १० कविता वाचन गरेका थिए ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको प्रमुख आतिथ्यमा एकल वाचन कार्यक्रम भएको थियो । विभिन्न देशमा रहेर कविता लेखिरहेका गिरीले नेपाली साहित्यका लागि महत्वपूर्ण योगदान दिएको साहित्यका निखिलले बताए । साहित्य सर्जकहरु तथा साहित्यसेवीहरु प्रशन्ना चौलागाईँ, रियाज कार्की, राजकुमार लामिछाने, देवराज खरेल, सुवास सजल, देव दुलाल, मुक्तिगोविन्द वैद्य, किशन पौडेल, रमेशमोहन अधिकारी, समर्पण न्यौपाने, दीपक गौतम लगायतको उपस्थिति रहेको थियो ।
साहित्य संगम तथा सिस्नुपानी मकवानपुरको संयुक्त भवनमा सञ्चालित कार्यक्रमलाई संस्थाका सहसचिव भवानी तिमल्सिनाले सहजीकरण गरेकी थिइन् ।