लक्ष्मी जयन्तीमा विद्यालयस्तरीय कबिता प्रतियोगिता
हेटौंडा-महाकबि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा साहित्य संगम मकवानपुर र युगप्रकाश क्लब हेटौंडा–११ नवलपुरको संयुक्त आयोजनामा कविता प्रतियोगिता र सर्जक सम्मान कार्यक्रम सम्पन्न भएको छ । ११५ औँ लक्ष्मी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यता र युगप्रकाश क्लबका अध्यक्ष दीपक सिवाकोटीको अध्यक्षता रहेको थियो ।
विद्यालयस्तरीय कविता प्रतियोगितामा प्राप्त कूल ३७ कवितामध्ये १५ कविता छनोट चरण पार गरेका थिए । वाचनका लागि उपस्थित १२ मध्ये निमिषा निरौला, कृष्मा लौडारी र विशप आचार्यको कविता उत्कृष्ट तथा रीतिका छत्कुली र इभानी रानाभाटले प्रोत्साहन पुरस्कार प्राप्त गरेका थिए । उत्कृष्ट कविताका लागि २ हजार र प्रोत्साहनका लागि १ हजार नगद राशि तथा प्रमाणपत्र प्रदानगरिएको थियो । कार्यक्रममा स्वर्गीय साहित्य सर्जक तथा दाना कविताका अगुवा तुल्सी थापालाई मरणोपरान्त सम्मान गरियो । १० हजार राशिको महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मानबाट अग्रज साहित्य सर्जक देवराज खरेललाई सम्मानितगरियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा संगमका सल्लाहकार, आरसी रिजाल र निमेष निखिल, सल्लाहकार तथा निर्णायक मण्डल संयोजक श्यामकुमार बानियाँ, संगम अध्यक्ष डीबी बर्तौला, ११ नं. वडाअध्यक्ष जुना दाहाललगायतले आफ्नो धारणा राखेका थिए । संगमका सल्लाहकार सुवास खनालले लक्ष्मीप्रसाद देवकोटाको चर्चा गरे । उपाध्यक्ष सानु खनालले सम्मानित व्यक्तित्व खरेलका बारेमा जानकारी गराए ।
साहित्य सर्जक, साहित्यप्रेमी तथा राजनीतिक, शैक्षिक क्षेत्रका व्यक्तित्वहरुराजकुमार लामिछाने, सुवास खनाल, नारायण भण्डारी, चन्द्रकिरण श्रेष्ठ, मधु ढुंगानालगायतको उपस्थिति थियो । सहीद स्मारक गेटदेखि प्रभातफेरी तथा त्रिभुवन माविमारहेको देवकोटाको प्रतिमामा माल्यार्पण तथा स्वर्गीय तुल्सी थापाप्रति मौनधारण गरिएको कार्यक्रमलाई संगमका सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए ।