मकवानपुरमा स्वास्थ्य बीमितले पाएनन् समयमै उपचार

संजीव सुनार
२०८० मंसिर ५, मंगलवार ११:२०

हेटौंडा- हेटौंडा–४ का राजन ढकालले कात्तिक मसान्तसम्म मात्र स्वास्थ्य बीमाको म्याद भएका कारण असोजकै दिनमा नबीकरण गरे । मंसिर १ गतेदेखि स्वास्थ्यबीमा सुचारु हुनुपर्ने थियो तर, भएन । यतिबेला ढकालको परिबारमा बिरामी भएको खण्डमा स्वास्थ्यबीमाको कार्यक्रमले समेट्दैन भनेर चिन्तित भएका छन् । हेटौंडा–१६ का श्यामलामाले गत साउनमा आफ्नो ५ सदस्यको बीमाको नवीकरण रकम भुक्तानी गरे । उनको यही मंसिरको १ गते सेवा सुचारु हुनुपर्नेमा अझै हुन सकेको छैन ।

श्यामको आफ्नो ७५ बर्षीय आमा मानकुमारी गत असोजदेखि हेटौंडा अस्पतालमा उपचाररत छन् । बीमा सुधिवा सुचारु नहुँदा समस्यामा परेको गुनासो गरे । हेटौंडा–६ का महेन्द्र श्रेष्ठले पनि असारमै नवीकरण वापतको रकम बुझाएका थिए ।

भदौ १ गतेदेखि सेवा सुचारु हुनुपर्नेमा मंसिर १ गतेसम्म पनि श्रेष्ठ परिवारले बीमाबाट हुने उपचार सुविधा उपभोग गर्न पाएका छैनन् । ‘मंसिर १ गते शुक्रबार स्वास्थ्य बीमा चालु नभएकै कारण छोराको आखाँको अप्रेशन गराउन पाइन’, उनले भने । ढकाल, लामा र श्रेष्ठ प्रतिनिधि पात्र मात्र हुन् । उनीहरु जस्ता धेरै स्वास्थ्य बीमितले समयमै नवीकरण गरेपनि बीमाबाट उपचार सेवा पाउन सकेका छैनन् ।

स्वास्थ्य बीमा नियावली २०७५ का अनुसार ‘स्वास्थ्य बीमा’ दर्ता होस् या नवीकरणको निवेदन अवधि तीन–तीन महिना, बर्षको चारपटक तोकिएको हुन्छ । त्यसको पाँचौ महिनामा स्वास्थ्य बीमा सेवा सुविधा सुचारु हुने कानुनी प्रावधान छ । तर, मकवानपुरमा नवीकरण गर्न रकम बुझाएकाहरुको तोकिएको अवधि पार गर्दा समेत स्वास्थ्य बीमा सुचारु हुन नसकेको हो ।स्वास्थ्य बीमा नियमावली २०७५ का अनुसार वैशाखदेखि असार महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको भदौ एक गतेदेखि, साउनदेखि असोज महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको मङ्सिर एक गतेदेखि, कात्तिकदेखि पुस महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको फागुन एक गतेदेखि र माघदेखि चैत महिनासम्म दर्ता वा नवीकरण भएकोमा अर्को वर्षको जेठ एक गतेदेखि हुने व्यवस्था छ ।

मकवानपुरमा स्वास्थ्य बीमा गर्नेको संख्या पनि निरन्तर बढ्दो छ । जसले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रहेको देखिन्छ । स्वास्थ्य बीमा कार्यक्रमले विपन्न,असहायहरुलाई प्रत्यक्ष लाभ मिलेको छ । तर, स्वास्थ्य बीमा बोर्डको मकवानपुर कार्यालयले समयमै आवश्यक प्रक्रिया पूरा गर्न नसकेका कारण बीमितहरुको आधारभूत आवश्यकतामाथि खेलबाड भइरहेको हो । बीमाको रकम तिरेपछि पनि सेवा नपाउनु सामान्य विषय नभई राज्यको तर्फबाट भएको गम्भीर त्रुटी रहेको सरोकारवालाहरु बताउँछन् ।

मकवानपुरमा स्वास्थ्य बीमा गर्ने ३० हजार ५ सय २ जना थपिएका छन् । जिल्लामा बीमा गर्नेको संख्या २ लाख १० हजार ५ सय ५१ पुगेको दर्ता अधिकारी नरबहादुर खड्काले जानकारी दिए । गत वर्षसम्म एक लाख ७२ हजार ४९ जनाले स्वास्थ्य बीमा गराएका थिए । बीमा नवीकरण गराउनेको करिब ९२ प्रतिशत रहेको उनको भनाई छ ।स्वास्थ्य बीमा बोर्ड मकवानपुरका दर्ता अधिकारी खड्का कर्मचारी अभावका कारण बीमा नवीकरण हुन नसकेको बताउँछन् । ‘हाम्रो कार्यालयको दरबन्दी ६ जनाको हो, अहिले हामी ४ जना मात्रै छौँ ।’, उनले भने, ‘६ जना कर्मचारीले गर्ने काम ४ जनाले गर्दा नभ्याएको हो ।’,

खड्काका अनुसार चालु आर्थिक वर्षमा नवीकरणका लागि आएका करिब ५० प्रतिशत स्वास्थ्य बीमाका निवेदनहरु सुचारु हुन बाँकी छ । स्वास्थ्य बीमा एक्टिभ नभएकाहरुको सोमबारबाटै क्रमशः सुचारु हुँदै जाने खड्काले बताए ।पछिल्लो १० महिनादेखि स्वास्थ्य बीमा बोर्ड नेतृत्वबिहिन अवस्थामा पुगेपछि देशभर समस्या सृजना भएको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको हस्तक्षेपका कारण बोर्ड १० महिनादेखि नेतृत्वबिहीन बन्न पुगेको आरोप लगाइएको छ । नियमित कार्य संचालनमा मात्रै नभई कर्मचारी भर्नाको बिषयमा समेत हस्तक्षेप गरेको मन्त्री बस्नेतमाथि आरोप छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमलाई सक्रिय रुपमा अगाडि बढाउनलाई कर्मचारी भर्ना गर्न लागिएको थियो । आवश्यक कर्मचारी भर्ना गर्ने क्रममा लिखित परीक्षा सकेर परीक्षामा पास भएकाको नाम सार्वजनिक गर्ने स्वास्थ्य बीमा बोर्डको तयारी थियो । तर, मन्त्री बस्नेतले यो परीक्षाको नतिजा प्रकाशन गर्न पनि रोकेको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*