‘शिक्षामा बुद्धिचाल’ कार्यक्रमको घोषणा
हेटौंडा- नेपाल बुद्धिचाल महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सँगको सहकार्यमा शिक्षामा बुद्धिचाल (चेस इन एजुकेसन) कार्यक्रम घोषणा गरेको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी पाँच वर्षको लागि यो कार्यक्रमको घोषणा गरेको हो ।महासंघका अनुसार शिक्षामा बुद्धिचाल अन्तर्गत बागमती प्रदेशमा रहेका प्याब्सनमा आबद्ध विद्यालयमा सुरुमा बुद्धिचाल खेलको प्रशिक्षक दिने र त्यसपछि प्रत्येक स्कुलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरी दुई–दुई जना खेलाडी (पुरुष÷महिला) छनोट गर्नेछ । छनोट भएका खेलाडीबिच प्रदेशस्तरीय प्रतियोगिता गराएर कम्तीमा १० जना खेलाडीलाई कक्षा ४ देखि १२ कक्षासम्म पठनपाठनको लागि निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।
कार्यक्रम पाँचवर्ष चल्ने र भविष्यमा अन्य प्रदेशमा पनि विस्तार गरिँदै लगिने बताइएको छ । महासंघले कार्यक्रमका लागि प्याब्सन बागमती प्रदेशसँग पाँचवर्षे सम्झौता गरेको छ । सोमबार नै सम्झौतापत्र महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जन र प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठले आदानप्रदान गरे ।बुद्धिचाल खेलको विकासका लागि विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने र राम्रा खेलाडीलाई पठनपाठनको लागि छात्रवृत्तिको व्यवस्था गरिनु महत्वपूर्ण भएको महासंघका महासचिव धर्म लामाले बताए । महासंघका अध्यक्ष महर्जनले प्याब्सनसँगको सहकार्यले बुद्धिचाल खेलको विकासमा नयाँ आयाम थपिएको बताए ।
महासंघले प्रतियोगिता सञ्चालन गर्नुअघि हरेक विद्यालयमा शिक्षकलाई बुद्धिचाल खेलको प्राविधिक प्रशिक्षण दिने जनाएको छ । शिक्षामा बुद्धिचाल कार्यक्रमको सम्पूर्ण खर्च प्याब्सन बागमती प्रदेशले गर्ने अध्यक्ष श्रेष्ठले बताए । हाल बागमती प्रदेशमा प्याब्सनसँग करिब चार हजार विद्यालय आबद्ध रहेको बताइएको छ ।