थाहा फिल्म फेस्टिबलमा देखाइने उत्तरीक्षेत्रको वृत्तचित्र तयार

साझाकुरा
२०८० मंसिर ८, शुक्रबार ११:२७

हेटौंडा-थाहा कला केन्द्रले आगामी ९ मंसिरदेखि १४ मंसिरसम्म सञ्चालन हुने थाहा फिल्म फेस्टिभलमा प्रदर्शनी गर्न थाहा वृत्तचित्र निर्माण गरेको छ । थाहा नगरपालिकाको पर्यटकीय क्षेत्रलाई समेटेर वृत्तचित्र निर्माण गरिएको हो । करिब ३६ मिनेट लामो वृत्तचित्रमा चित्लाङ, बज्रवाराही, टिस्टुङ, आग्रा, दामन र पालुङका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा प्राकृतिक विषयलाई समेटिएको कला केन्द्रका सञ्चालक सानोबाबु मोक्तानले जानकारी दिए ।

मोक्तानकै निर्देशनमा बनेको वृत्तचित्रको लेखक कुमार नेगी रहेका छन् । स्क्रिप्ट लेखक नेगीका अनुसार थाहानगर कहाँबाट आउने, कहाँ आउने, कसरी आउने, कुन बाटो आउने, कहाँ बस्ने, केके खान पाइने, कहाँ घुम्न सकिने, किन घुम्ने ? लगायत समग्र जानकारी एउटै वृत्तचित्रबाट पाउन सकिने गरी स्कृप्ट तयार गरिएको छ । ‘सकेसम्म नगरका सबै वडा र भेगका पर्यटकीयस्थलको धेरथोर वर्णन गरिएको, थाहानगरकै बासिन्दाको लागि पनि आफ्नो नगर चिन्न मद्दत पुग्छ,’ नेगीले भने ।

वृत्तचित्रमा सुरुमा थाहानगरको समग्र पर्यटकीय महत्व दर्शाइएको छ भने क्रमशः थानकोट–चन्द्रागिरी–चित्लाङ हुँदै थाहानगर प्रवेश गर्न सकिने गरी वर्णन गरिएको छ । त्यसपछि क्रमशः टिस्टुङ, आग्रा, दामन, पालुङ र बज्रवाराही क्षेत्र पु¥याइएको छ । बाइरोडको बाटो हुँदै थाहानगर आउन सकिने गरी पनि वर्णन गरिएको छ । ‘वृत्तचित्र हेर्दैगर्दा एक जना दर्शक क्रमशः थाहानगर घुमघाम गरिरहेको भान हुनेगरी स्कृप्ट तयार पारिएको छ, बाँकी त वृत्तचित्र नै हेर्नुपर्छ’ नेगीले भने ।

वृत्तचित्रका लागि ड्रोनबाट समेत दृश्य छायांकन गरिएको थियो । प्रमोद जोशी रराजीवकुमार स्याङ्तानको परिकल्पना, निश्चल शाक्यको व्यवस्थापन, गंगा राई र भीम तामाङको छायाँकन तथा सुनिता राईको स्वरमा वृत्तचित्र निर्माण तयार भएको कला केन्द्रका सञ्चालक मोक्तानले जानकारी दिए । वृत्तचित्रको पहिलो प्रदर्शनी ९ मंसिरमा थाहा फिल्म फेस्टिभलको उद्घाटन लगत्तै हुने आयोजकले जानकारी दिएको छ । प्रदर्शनी पालुङ जेसीजको हलमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*