चित्लाङस्थित प्रविधि विश्व विद्यालयको उपाध्यक्षमा जोशी
हेटौंडा-मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयको आर्थिक र प्रशासनिक क्षेत्रको उपाध्यक्षमा पदमसुन्दर जोशी नियुक्त भएका छन् । अन्तर्राष्ट्रिय छनोट प्रक्रियाका आधारमा जर्मनीको विश्व विद्यालयबाट रिसोर्स इन्जिनियरिङमा स्नातकोत्तर गरेका जोशीलाई संरक्षक समितिको निर्णयबाट यही मङ्सिर १ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको विश्वविद्यालयले जनाएको छ । उनले यसअघि बासस्थानसम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका नेपाल प्रतिनिधि र त्रिभुवन विश्वविद्यालयको इञ्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक भइसकेका छन् ।
स्वायत्त र मौलिक प्रकृतिको नयाँ विश्वविद्यालयका कुलपति, उपकुलपति नभई अध्यक्ष, उपाध्यक्ष र संरक्षक समितिको कानुनी प्रबन्ध गरिएको छ । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङस्थित सात सय ४० रोपनी जग्गामा स्थापित विश्वद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीरहेका छन् ।विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा यसै वर्षदेखि शिक्षण सुरु गरेको छ ।
विश्वविद्यालयले ती तहमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इञ्जिनीयरिङ, अग्र्यानिक एग्रिकल्चर एण्ड फुड, डिजिटल टेक्नोलोजी, टुरिजम साइन्स एण्ड इञ्जिनीयरिङ, डेटा साइन्स विषयमा पढाउन थालेको छ । विश्वविद्यालयले हाल सुविधा सम्पन्न प्रयोगशाला सहित चारवटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ ।