खचाखच दर्शकको साथमा थाहा फिल्म फेस्टिभल जारी

साझाकुरा
२०८० मंसिर १३, बुधबार १०:३८

हेटौंडा-थाहा नगरपालिकामा ९ मंसिरबाट सुरु ‘थाहा फिल्म फेस्टिभल’ जारी छ । फेस्टिभलअन्तर्गत् पालुङ जेसीज हलमा नेपाली कथानक चलचित्र, लघुचलचित्र र वृत्तचित्रहरु प्रदर्शन भइरहेको छ ।निःशुल्क रुपमा देखाइएको फिल्म हेर्न दर्शकहरुको घुईचो लागिरहेको आयोजक थाहा कलाकेन्द्रले जानकारी दिएको छ । दर्शकहरु फिल्म प्रदर्शनीको तालिका हेरेर आफूलाई मन पर्ने र पायक पर्ने हिसावले फिल्म हेर्न आइरहेका छन् । ११ मंसिरमा चलचत्रि ऐना झ्यालको पुतली हेर्न अधिकांश बालबालिका आएका थिए ।

किशोरीको पढ्ने सपनालाई ऐनाको झ्यालमा अड्किएको पुतलीसँग तुलना गरेर तयार पारिएको ऐना झ्यालको पुतली हेर्न विद्यालयका शिक्षकहरुकै साथमा आएका थिए विद्यार्थीहरु ।ऐना झ्यालको पुतलीपछि देखाइएको लघुचलचित्र र वृत्तचित्र हेर्ने दर्शकहरुको संख्या पनि उल्लेख्य रहेको फेस्टिभलका उपसंयोजक राजीवकुमार स्याङ्तानले जानकारी दिए । फेस्टिभलमा ऐना झ्यालको पुतली फिल्म प्रदर्शन लगतै प्रतिक्रिया दिदै निर्देशक सुजित बिडारीले भने, ‘चलचित्र मनोरन्जनको माध्यम मात्रै हैन चलचित्रले समाजलाइ यथार्थपरक चित्रण गरी समाज परिवर्तन गर्न ठूलो भूमिका निर्वाह गरेको र गरिरहेको पनि छ ।’, समाजमा चलचित्र र चलचित्रकर्मीलाई हेर्ने नजर अझै पनि फराकिलो बन्न नसकेको निर्देशक विडारीको तर्क छ ।

विविध फेस्टिभल तथा कार्यक्रमले चलचित्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न मद्दत गर्ने उनको विश्वास छ । थाहा फिल्म फेस्टिभलले पनि यस कुरामा भरथेग गर्ने बताउँदै खुशी व्यक्त गरे । थाहा नगरपालिकाका लघुउद्यमीका लागि थाहा फिल्म फेस्टिभल एक अवसर बनेको छ । स्थानीय लघुउद्यमीले निर्माण गरेका हस्तकलाका सामग्री थाहा कोशेली घरमार्फत् फेस्भिटलमा विक्रीका लागि राखिएको छ भने घर्तिखोलाको अचार उत्पादक महिला समूहले उत्पादन गरेको स्वादिलो अचार विक्री गरिएको छ । अचार बिक्री तथा प्रदर्शनीका लागि समूहका लघुउद्यमी महिलाहरु आफैं खटिएको समूहकी शान्ति तामाङले बताइन् ।

जेसीज हलमा कार्यक्रम भइरहँदा निस्कने फोहोर आयोजकले आफैं व्यवस्थापन गर्ने गरेको छ । हरेक प्रदर्शनी सकिएलगत्तै स्वयम्सेवकमार्फत् हल तथा वरपरको वातावरण सरसफाइ गर्ने गरेको फेस्टिभल संयोजक प्रमोदकृष्ण जोशीले बताए । फेस्टिभल सञ्चालक समितिले फेस्टिभलमा अन्तर्राष्ट्रियस्तरमै पुरस्कार प्राप्त नेपाली चलचित्र, लघुचलचित्र र वृत्तचित्रहरु प्रदर्शनी भइरहेकोले यस्तो अवसर थाहानगरबासीका लागि फेरिफेरि नआउने भन्दै अवलोकनका लागि आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*