बागमती पराजित, मकवानपुरे दुई क्रिकेटरले ११ रन मात्रै जोडे
हेटौंडा- मकवानपुरका ४ क्रिकेटर समावेश सन्दीप लामिछाने नेतृत्वको बागमती प्रदेश टिम पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।बागमती बिहीवार त्रिभुवन आर्मी क्लबसँग सेमिफाइनलमा पराजित भएको हो । टस जितेर सुरुवाती ब्याटिङ रोजेको बागमती आर्मीसँग ४ विकेटले हारेको हो । बागमतीले दिएको १२८ रनको लक्ष्य आर्मीले ६ विकेटको क्षतिमा १५ ओभरमै पूरा ग¥यो । आर्मीको जितमा भीम सार्कीले ३९ रन र सोमपाल कामीले नटआउट १४ रन जोडे । भीमले ३५ बलमा ५ चौका तथा सोमपालले १२ बलमा १ छक्का प्रहार गरे । कुशल मल्लले ८ बलमा ४ छक्का प्रहार गर्दै २७ रन बनाए ।
आर्मीका कप्तान विनोद भण्डारीले १२ बलमा ३ चौका र २ छक्काको मद्दतमा २५ रन जोड्दा अरु ब्याटर दोहोरो अंकमा रन नजोड्दै आउट भए । बलिङमा बागमतीमा कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे । त्यसअघि पोखरा क्रिकेटमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ७ विकेटको क्षतिमा १ सय २७ रन मात्र जोड्न सक्यो । खराब ब्याटिङ गरेको बागमतीका लागि प्रतीक श्रेष्ठको नटआउट ५० रन महत्वपूर्ण सावित भयो । उनले ३५ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।
मकवानपुरका दुई क्रिकेटरले जम्मा ११ रन मात्रै जोडे । ओपनर मकवानपुरका शुभ कंसाकारले ३ रन र मकवानपुरकै गौरव खड्काले ८ रन मात्रै बनाउन सके । यसैगरी, रित गौतम १४, इशान पाण्डे १२ रन र रोशन विक १ रनमा आउट हुँदा बागतमीले १०.१ ओभरमा ४४ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । प्रतिश जिसी पनि शून्यमा आउट हुँदा कप्तान सन्दीप लामिछानेले २२ बलमा १९ रनको योगदान गरे । बलिङमा आर्मीका शाहब अलामाले ४ विकेट लिए । सोमपाल कामी २ विकेट लिए भने विवेक यादवले १ विकेट हात पारे ।
बिहीवार नै सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कपको फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो सेमिफाइनलमा एपीएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रनमात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९७रन बनाएको थियो ।