एसियाली खुला बुद्धिचालमा सुभयान र मिनहाज उपाधि नजिक

साझाकुरा
२०८० मंसिर १७, आईतवार ०९:४६

हेटौंडा- हेटौंडामा पहिलोपटक भएको हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिताअन्तर्गत् शनिवार सातौं चरणको खेल सकिएका छन् ।प्रतियोगितामा भारतीय २३९३ रेटेड शीर्ष खेलाडी सुभयान र बंगलादेशी खेलाडी मिनहाज उद्दिन उपाधि नजिक पुगेका छन् । सुभयानले भारतकै राहुल गुरुङविरुद्ध कारोकान प्रणालीमा सेतो गोटीबाट खेल आरम्भ गरेका थिए । उक्त खेलमा राहुलले छैटौँ चाल अन्तर्गत बिसप डी सिक्स चाल्दै सानो गल्ती गर्न पुगे । जसको फाइदा लिँदै सुभयानले सोह्र चालभित्र छिटो खेल आफ्नो पक्षमा लिन सफल रहे ।

सुभयानले सात चरणमा पाँच जित र दुई बराबर गर्दै ६ अंकका साथ अग्रस्थान बनाएका छन् । आठौँ चरणको खेलमा उनले बंगलादेशी २१९३ रेटेड एफ अहमद शेख नासिरसँग कालोगोटी लिएर प्रतिस्पर्धा गर्नेछन् । यस प्रतियोगिता मार्फत ७ रेटिङ वृद्धि गर्दै अन्तर्राष्ट्रिय आईएम उपाधि प्राप्त गर्ने लक्ष रहेको उनले बताए । शनिबारै सम्पन्न दोश्रो बोर्डमा २२१७ रेटेड बंगलादेशी आईएम मोहम्मद मिनहाज उद्दिनले भारतीय १९७६ रेटेड खेलाडी एएफएम सौरव चौबेमाथि कठिन जीत दर्ता गर्दै ६ अंकका साथ संयुक्त अग्रस्थानमा उभिन सफल बने ।

आईएम मिनहाजले ओपन सिसिलियन भारिएशन इफोसी सिक्स, नाइट एफ थ्री नाइट एफ सिक्सबाट खेल सुरु गर्दै ४२ औँ चालमा चलाखी गर्दै पाउन अप गरे । उपाधिका लागि जित्नै पर्ने आठौँ चरणको अर्को खेल उनकै समकक्षी बंगलादेशी एफएम सरिफ होसेनसँग कालो गोटी लिएर खेल्ने छन् । सहआयोजक हेटौंडा चेस क्लबको व्यवस्थापनमा चलिरहेको प्रतियोगितामा बंगलादेशी एफएम नयम हक, भारतका अमरदीप बर्टक्के, अर्बिन्दर प्रितसिं, बंगलादेशी आईएम सकिल अबु सफिन, एफएम सरिफ होसेन र एफएम शेखनासिर ५.५ अंक जोड्दै सामूहिक दोश्रो स्थानमा सुरक्षित रहन सफल भएका छन् ।

आठौँ चरणको खेलमा नयन हकले अबु शेखसँग, अमरदीपले अर्बिन्दर प्रितसँग, नासिर शेखले सुभयानसँग र सरिफ होसेनले मिनहाजसँग कडा प्रतिस्पर्धा गर्ने छन् । सहआयोजक मकवानपुर बुद्धिचाल संघको रेखदेखमा भइरहेको अन्तर्राष्ट्रिय खेलमा एरिना आईएम, शुश्रुत दाहाल, युवा खेलाडीद्वय पुरुषोत्तम सिलवाल र कुशल बेलवासे ४.५ अंक बनाएर नेपाली खेलाडी मध्येबाट अगाडि रहन तछाडमछाडगरिरहेका छन् ।

उनीहरुसँगै पूर्वनेपाल च्याम्पियन एफएम पुरुषोत्तम चौलागाईं, झापाका राजन सुवेदी, वर्तमान नेपाल च्याम्पियन एफएम रुपेश जैसवाल, युवा स्वर्णिम दुवाल र मुहान श्रेष्ठ समान ४ अंक प्राप्त गर्दै खेलिरहेका छन् । यसैगरी भारतीय महिला खेलाडी मरियम फातिमा ४.५ अंकका साथ पहिलो र श्रीलंकन महिला खेलाडी सचिनि रानासिंघे ४ अंक बनाई दोश्रो स्थानमा रहन सफल भएका छन् ।

नेपालका भेट्रान खेलाडी मोहनसिं प्रधानले ३ अंक जोड्दै आफूलाई प्रतिस्पर्धामा उभ्याउन सफल भएका छन् । आइतबार पुरस्कार वितरण एवं समापन हुने एसियाली खुला बुद्धिचाल प्रतियोगिताको कूल पुरस्कार राशी पाँच लाख सतासी हजार पाँच सय रुपैयाँ रहेको छ । शीर्ष १५ खेलाडी, सर्वोकृष्ट महिला, वेष्ट लोकल, वेष्ट भेट्रान, यू १०, यू १२, यू १४, यू १६, यू १८, वेष्ट अनरेटेड र १५००, १७००, १९०० मुनिका रेटेड खेलाडीहरु गरी ३८ जना प्रतियोगितामा सहभागी विजयी खेलाडीलाई वितरण गरिने जानकारी मकवानपुर जिल्ला बुद्धिचाल संघलाई संघका अध्यक्ष मनोज श्रेष्ठले जानकारी गराएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*