गाउँबासीलाई आयआर्जनमा जोड्न बागमतीमा दुनाटपरी उद्योग

साझाकुरा
२०८० मंसिर १८, सोमबार ११:३६

हेटौंडा-मकवानपुरको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिका–९, बेतिनीस्थित अँधेरीमा दुनाटपरी उद्योग सञ्चालनमा आएको छ । न्यूनआय र विपन्न वर्गलाई आयआर्जनसँग जोड्न उद्योग सञ्चालनमा ल्याइएको हो ।डिभिजन वन कार्यालय मकवानपुरको आर्थिक सहयोगमा दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहलाई प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न दुनाटपरी उद्योगका लागि प्रविधि हस्तान्तरण गरिएको हो । स्थानीयको जीविकोपार्जनमा थप टेवा पुगोस् भन्ने उद्देश्यले करिव ४ लाख ३८ हजार बराबरको दुनाटपरी बनाउने मेशीन सहयोग गरिएको हो । वन क्षेत्रमा प्रशस्त मात्रामा पाईने र बर्सेनी वन डढेलोको कारण डढेर खेरजाने सालको पातको उपयोग गरी रोजगारी सिर्जना गर्न सकिने डिभिजन वन अधिकृत पुष्पराज बर्तौलाले बताए ।

दुनाटपरी उद्योगले स्थानीयको आयआर्जन वृद्धि र सामुदायिक वनमा उद्यम प्रवद्र्ध्न गर्न थप टेवा पुग्ने उनको विश्वास छ । स्थानीयस्तरमा उपलब्ध सालको पात प्रयोग गरेर उत्पादन गर्न सकिने दुनाटपरी उद्योगले सामुदायिक वनमा उद्यम विकास गर्न र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने डिभिजन वन कार्यालय मकवानपुरका वन अधिकृत बसन्तराज गौतमले बताए । प्लाष्टिकको दुनाटपरी निरुत्साहित गर्न र यहाँका स्थानीयलाई आयआर्जनसँग जोड्न उद्योगको लागि प्रविधि हस्तान्तरण गरिएको उनको भनाई छ ।
प्लाष्टिकजन्य सामानहरुको प्रयोगमा कमि ल्याउने नीति बनिरहेको सन्दर्भमा यस किसिमको सामानको बजारको सम्भावना बलियो रहेको उनको भनाई छ ।

अधिकांश भोजभतेरमा प्लास्टिकबाट बनेका सामग्री प्रयोग हुन थालेपछि त्यसलाई विस्थापित गर्न दुनाटपरी उद्योग सञ्चालनमा ल्याइएको दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पदमबहादुर खिरिणमगरले बताए । पछिल्लो समय भोजभतेरमा मात्र होइन हरेक जसो चियापसल र घरको भान्सामा समेत प्लास्टिकका गिलास, प्लेट चम्चाको प्रयोग बढ्न थालेको छ ।प्लाष्टिकबाट बनेका सामग्री प्रयोग गरिसकेपछि त्यसको व्यवस्थापनमा समेत कठिनाइ हुने, वातावरण पनि प्रदूषित हुने भएकाले सालको पातबाट बनेको दुनाटपरी प्रयोगमा प्रोत्साहन गर्न उद्योग सुरु गरिएको अध्यक्ष मगरको भनाई छ ।

८१ हेक्टर क्षेत्रफलमा फैलिएको दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहमा ५३ घरधुरी आवद्ध रहेका छन् । प्लास्टिकका प्लेट, गिलास, चम्चालगायतका सामान प्रयोग गर्दा मात्र नभई नष्ट गर्दा समेत त्यसबाट निस्कने प्रदूषणले स्वास्थ्यमा असर पु¥याउने हुँदा सालको पातबाट बनाइएका सामग्री प्रयोग गर्नु राम्रो हुने भएकाले जंगलमा खेर गइरहेका पातबाट गाउँमै दुनाटपरीलगायत उत्पादन गर्न थालिएको छ ।

प्रविधि हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले गाउँगाउँमा उद्यमशीलता बढाउनु पर्ने बताउँदै सामुदायिक वनभित्रबाट निस्कने वनपैदावरसँग सम्बन्धित विभिन्न वस्तुहरु नियमसंगत ढंगले उद्यमशीलता एवम् व्यावसायीकरण गरेर आर्थिक उपार्जन गर्न सकिने बताए । बागमती–९ का वडाध्यक्ष पुनराम घलानले वडामा प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउँदै जाने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*