अमलेखगञ्ज–हेटौंडा–लोथर पेट्रोलियम पाइपलाइन सम्झौता पुसभित्रै

साझाकुरा
२०८० मंसिर २०, बुधबार १०:५९

हेटौंडा- नेपाल आयल निगमले झापाको चारआली र अमलेखगञ्ज–हेटौंडा–लोथर पेट्रोलियम पाइपलाइन निर्माण गर्न बिजिनेस टु बिजिनेस (बीटुबी) सम्झौता गर्ने गृहकार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुवै पाइपलाइन निर्माण गर्ने विषयमा गत जेठमा भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबीच सरकारद्वारा सरकारलाई (जीटुजी) सम्झौता भएको थियो ।मंसिर महिनाभित्रै बीटुबी सम्झौता गर्ने कार्यतालिका थियो तर, सम्झौतालाई प्रक्रियामा लैजान ढिलो भएको कारण पुस अन्तिम सातासम्म सम्झौता गर्ने तयारी भएको बताइएको छ । सम्झौताका लागि निगमका उपप्रबन्धक निर्देशक नागेन्द्र साहको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

‘मंसिरभित्र बीटुबी गर्नुपर्ने कार्यतालिका थियो,’ निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘तर, सम्झौता प्रक्रिया अघि बढाउन आवश्यक पर्ने प्राविधिक समिति १ महिना ढिलो गरी गठन भएकाले पुस अन्तिम सातासम्म गर्ने गरी गृहकार्य भइरहेको छ ।’ समितिले इन्डियन आयल कर्पोरेसन (आईओसी) को प्राविधिक टोलीसँग २ पटक भर्चुअल र १ पटक भौतिक रुपमा छलफल गरिसकेको प्रवक्ता ठाकुरले बताए । बीटुबी सम्झौताअघि सडकको राइट–वे क्लियरेन्स, चितवनको लोथर र झापाको चारआलीमा पाइपलाइनसँगै टर्मिनल पूर्वाधार निर्माण गर्दा पेमेन्ट अफ मोडेल र पाइपलाइन निर्माणका लागि भारत सरकारले सहयोग गर्ने भनेको खाकाको विषयमा भइरहेको छलफल टुंगो नलागेकाले बीटुबी सम्झौतामा ढिलाइ भएको बताइएको छ ।

झापाको चारआलीमा ओछ्याइने पाइपलाइन र टर्मिनलसहितको भण्डारण गृहमा आर्थिक र प्राविधिक सहयोग आईओसीले गर्नेछ । यसैगरी चितवनमा बिछ्याइने नयाँ पाइपलाइनमा लाग्ने सम्पूर्ण खर्च आईओसी र टर्मिनलसहित बन्ने भण्डारण गृहको निर्माणमा लाग्ने खर्च निगमले व्यहोर्नेछ । ‘भारतीय पक्षले चितवनको लोथरमा टर्मिनल र भण्डारणगृह बनाउँदा लाग्ने सम्पूर्ण खर्च एकमुष्ठ उपलब्ध गराइदिन माग राखेको छ, हामीले भने रकम एकमुष्ठभन्दा पनि काम जसरी हुँदै जान्छ, त्यसरी उपलब्ध गराउँदै जाने भनेर आफ्नो कुरा राख्दै आएका छौं,’ प्रवक्ता ठाकुरले भने ।

यही दुई विषयमा टुंगो नलाग्दा सम्झौता प्रक्रियामा जान ढिलाइ भएको निगमले जनाएको छ । सन् २०२१ मा भएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार ती दुई स्थानमा निर्माण हुने भनिएको दुई टर्मिनल भवनका लागि मात्रै तत्कालीन समयमा ६ अर्ब १८ करोड रुपैयाँ खर्च हुने लागत निकालिएको थियो । समयमा काम सुरु नहुँदा अब यो लागत खर्च बढ्ने निगमको भनाइ छ । चारआलीमा निर्माण हुने ४२ हजार किलोलिटर (४ करोड २० लाख लिटर) क्षमताको भण्डारणगृह ग्रिन फिल्ड टर्मिनल पनि भारतकै आर्थिक प्राविधिक सहयोग हुने उल्लेख छ । भण्डारणगृहमा पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेल भण्डारण गर्ने निगमले जनाएको छ । अमलेखगन्ज–हेटौंडा–लोथरसम्मको ६२ किलोमिटर खण्डमा पाइपलाइन निर्माण गरिनेछ । लोथरमा १ लाख १ हजार किलोलिटर (१० करोड १० लाख लिटर) क्षमताको भण्डारणगृह निर्माण गरिने निगमले जनाएको छ ।

पहिलो चरणमा दक्षिण एसियामै पहिलो नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन नेपालमा बनेको थियो । भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्ज सम्मको ६९.२ किलोमिटर खण्डमा पाइपलाइन ओछ्याइएको थियो । पाइपलाइनको कुल दूरीमध्ये भारत तर्फ ३२.६५ र नेपालतर्फ ३७.२५ किलोमिटर पर्छ ।२०७६ भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतीय समकक्षी मोदीले भर्चुअल प्रविधिमार्फत दिल्लीबाट एकसाथ रिमोट थिचेर यो पाइपलाइन उद्घाटन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*